काठमाडौं । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।

महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेषगरी किशोरीहरू विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । सत्तारूढ तालिबानले उनीहरूलाई विद्यालयमा फर्कन अनुमति दिने कुनै सङ्केत नदेखाएकाले केही समाजसेवीले किशोरी पुस्ताको शिक्षालाई निरन्तरता दिने उपाय खोजिरहेका छन् ।

काबुलको एउटा घरमा सोदाबा नाजहन्दले भूमिकगतरूपमा स्थापना गरेको अनौपचारिक विद्यालयमा पढ्न दर्जनौँ केटी भेला भएका छन् । सोदाबा र उनकी बहिनी माध्यमिक विद्यालयका ती केटीलाई अङ्ग्रेजी, विज्ञान र गणित पढाउँछिन् ।

महिलाहरूको शिक्षा र काम गर्न पाउने अधिकार खोस्ने तालिबानलाई गतिलो जवाफ दिन सोदाबाले केटीहरूलाई पढाएर त्यो कठोर निर्णयविरुद्ध आफू खडा भएको बताइन् । छ कक्षासम्मका किशोरीलाई विद्यालय जानबाट तालिबानले प्रतिबन्ध लगाएपछि भूमिगतरूपमा उनले अनौपचारिक विद्यालय सञ्चालन गरेकी हुन् ।

तालिबानले महिलाहरूलाई विश्वविद्यालय जान अनुमति दिए पनि उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण भएका किशोरी नहुँदा त्यो अनुमति अप्रासङ्गिक भएको उनको ठम्म्याइ छ । विश्वविद्यालय र माध्यमिक विद्यालयबीचको विशाल रिक्ततालाई सम्बोधन गर्ने कुनै उपाय नहुँदा उनी ज्यादै दुःखी र चिन्तित छन् ।

सहायता निकाय सेभ द चिल्ड्रेनले शिक्षामा लगाइएको प्रतिबन्धको प्रभाव मूल्याङ्कन गर्न देशका सात प्रान्तमा नौ देखि १७ वर्ष उमेर समूहका करिब एक हजार सात सय केटाकेटीसँग अन्तर्वार्ता लिएको थियो । सेभ द चिल्ड्रेनले दुई महिना लगाएर गरेको सर्वेक्षणमा किशोरहरूको तुलनामा धेरै किशोरीहरू विद्यालय जान नपाएको देखाइएको छ ।

गत बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार २० प्रतिशत किशोरहरूको तुलनामा ४५ प्रतिशतभन्दा बढी किशोरीहरू विद्यालय नगएको पाइएको छ । सोह्र प्रतिशत केटाहरूको तुलनामा २६ प्रतिशत केटीहरूमा ‘डिप्रेसन’का लक्षण देखिएको छ ।

पहिलेदेखि नै चरम गरिबीको दुष्चक्रमा फसेका अफगानिस्तानका जनता अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेपछि विश्व समुदायबाट पाउने वित्तीय सहायताबाट पनि बञ्चित भए । कमजोर आर्थिक अवस्था भएका लाखौँलाई भोकभोकै बस्न बाध्य बनायो ।

शिक्षक, अभिभावक र विज्ञहरू सबैले देशको बिग्रँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफ्ना छोरीहरूको पढाइ रोकिएकामा रोष प्रकट गरेका छन् । तालिबानको अव्यावहारिक निर्णयले अन्ततोगत्वा छोरीहरूको भविष्य अन्धकारतर्फ धकेलेको छ । महिलामाथि काममा लगाइएको प्रतिबन्ध, पोशाकको नियमले छोरीचेली नराम्ररी प्रताडित भएका छन् । आँखाबाहेक शरीर पूरै ढाक्ुनपर्ने आदेश पालना गर्न विवश छन् उनीहरू । यद्यपि त्यो आदेशको पनि कहिलेकाहीँ उल्लङ्घन भएको छ ।

अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग सबै उमेर समूहका नारीका लागि विद्यालय खोल्न माग गरिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले तालिबानमार्फत वित्तीय सहायता उपलब्ध नगराई अफगानिस्तानका शिक्षकहरूलाई सोझै तलब दिने योजना बनाएका छन् ।

कतिपयले किशोरीहरूलाई विद्यालय फर्काउने चाहेका छन् भने केहीले त्यसप्रति आपत्ति जनाएका छन् । धर्मका नाममा उनीहरूलाई आधारभूत अधिकारबाट बञ्चित गर्न नहुने मत तालिबानभित्रैबाट व्यक्त भएको छ । विश्व समुदायसँगको सम्बन्ध सुधारका निम्ति पनि महिलामाथिको अमानवीय प्रतिबन्ध हटाउनुपर्ने पक्षमा आवाज उठिरहेको छ ।

सन् १९९० को दशकमा अफगानिस्तानमा पहिलोपटक शासन गर्दा तालिबानले महिलाहरूमाथि धेरै कडा प्रतिबन्धहरू लगाएको थियो । त्यतिबेला किशोरीहरू विद्यालय जान पाएनन् भने घरबाट बाहिर निस्कँदा अनिवार्यरूपमा बुर्का लगाउनुपर्ने उर्दी पालना गर्न विवश भए ।

तालिबान सत्ताबाट हटेको २० वर्षपछिको अवधिमा सहरी क्षेत्रका महिलाहरूको एउटा पूरै पुस्ता विद्यालय र काममा फर्कियो । देशमा क्रमिकरूपमा भएका परिवर्तनलाई स्वीकार गर्दै तालिबानले पनि आफ्ना नागरिकमाथि विगतको जस्तो व्यवहार नगर्ने आश्वासन दियो । गत वर्ष फेरि सत्ता आफ्नो नियन्त्रणमा लिएपछि उसले त्यो आश्वासन दोहो¥यायो तर त्यसलाई कार्यान्वयन भने गरेन ।

केही सरकारी अधिकारीहरूले किशोरीहरूलाई विद्यालय फर्कन दिने सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । उनीहरूले त्यो इस्लामिक ढाँचा सुनिश्चित गर्ने गरी हुने पनि बताएका छन् । सरकारी अधिकारीहरूको उक्त भनाइ अझै कार्यान्वयन भएको छैन ।

सोह्र वर्षीया शेकिबा कादेरीले विद्यालय जान नपाएपछि घरमै पढाइलाई निरन्तरता दिइरहेकी छन् । उनी पाठ्यपुस्तक, उपन्यास र इतिहासका पुस्तक पढिरहेकी छन् भने चलचित्र र युट्युब भिडियोमार्फत अङ्ग्रेजी सिकिरहेकी छन् । शेकिबा र उनकी कान्छी बहिनी विद्यालय जाँदैनन् तर उनका दुई भाइ सधैँ स्कुल पुग्छन् । उनकी दिदी एउटा निजी विश्वविद्यालयमा कानुन अध्ययनरत छन् ।

तालिबानले सत्ता कब्जा गरेको एक महिनापछि नाजहन्दले आफ्नो घर नजिको ‘पार्क’मा अनौपचारिक कक्षा सञ्चालन गरिन् जहाँ उनले सडक बालबालिकालाई पढ्न सिकाइन् । लेखपढ गर्न नसक्ने महिलाहरू पनि विस्तारै उनको पार्ककक्षामा आए । उनलाई पार्कमा पढाइरहेको देखेपछि एक जना परोपकारीले कक्षा सञ्चालनका निम्ति एउटा घर भाडामा लिइदिए आवश्यक फर्निचरको व्यवस्था पनि गरिदिए । नाजहन्दको भूमिगत विद्यालयमा अहिले छैटौँ कक्षाभन्दा माथिका ५० भन्दा धेरै विद्यालयका छात्रासहित दुई सय ५० विद्यार्थी पढिरहेका छन् ।

नाजहन्दको भूमिगत विद्यालय विद्यार्थीहरूको लागि जीवनको महत्वपूर्ण स्थल बनेको छ । उनले शिष्यहरूलाई विद्यालयका पुस्तकका अतिरिक्त आफ्नो अधिकारका निम्ति सङ्घर्ष गर्न पनि सिकाइरहेकी छन् । उनका अनुसार सन् १९९० दशकको उत्तराद्र्धमा सत्तामा आएको तालिबान र अहिलको तालिबानमा कुनै अन्तर छैन ।

नाजहन्द आफ्नो विद्यालयको भविष्यलाई लिएर पनि चिन्तित छन् । विद्यालय सञ्चालनमा सहयोग गरेका ती दाता अब यो दुनियाँमा छैनन् । उनले छ महिनाको घरभाडासहित अन्य आवश्यक सामग्रीको प्रबन्ध गरिदिएका थिए । नाजहन्दसँग घरभाडा तिर्ने र अन्य आवश्यक वस्तु खरिद गर्ने कुनै उपाय छैन । रासस

सम्बन्धित खबरहरु