
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जापोरिझिया आणविक प्लान्टमा रहेका रुसी सेनालाई तुरुन्तै निकाल्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
रुसले आणविक ब्ल्याकमेल गरेको आरोप लगाउँदै जेलेन्स्कीले त्यहाँबाट रुसी सेना फिर्ता गर्नु युक्रेनको मात्र नभई सम्पूर्ण विश्वको हितमा रहेको बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकपछि उनको यस्तो भनाइ आएको हो । अमेरिका र चीनले संयुक्त राष्ट्रका विज्ञहरूलाई यो आणविक प्लान्टमा जान दिन अपील समेत गरेका छन् ।
राष्ट्रसंघका लागि युक्रेनका राजदूतले भने, ‘यदि त्यहाँबाट विकिरण चुहावट भयो भने हामी कसैले पनि हावालाई रोक्न सक्नेछैनौं । तर विश्वले आतंकवादी राष्ट्रलाई रोक्न सक्छ ।’ तर रुसले आणविक प्लान्टको सुरक्षा गरिरहेको स्पष्ट पारेको छ ।