एसएलसी परीक्षामा पाँच लाख ७२ हजार परीक्षार्थी सहभागी हुने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १८ माघ, २०७१
slc

फाइल फोटो ।

भक्तपुर, माघ १८ – आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् । त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको सङ्ख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् ।

पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ ।

परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य तीव्र पारिएको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्ला पठाउन थालिएको पनि कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार चैत ५ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी, ६ गते अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते विज्ञान, १० गते सामाजिक, ११ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, १२ गते ऐच्छिक प्रथम र १३ गते ऐच्छिक दोस्रो विषयको परीक्षा हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिनुभयो । प्राविधिक शिक्षाको प्रयोगात्मक परीक्षा भने १६ गते सञ्चालन हुनेछ । रासस

सम्बन्धित खबरहरु