
काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।
सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।
बैतडीमा महिलाका नाममा पाँच सय उद्योग
पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।
दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् ।
यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।
दोगडाकेदार गाउँपालिका–३ की लक्ष्मी भट्टले राजश्व छुटका साथै महिला पनि उद्योग चलाउन सक्षम छन् भन्ने देखाउनका लागि आफ्नो नाममा उद्योग दर्ता गराएको बताउनुभयो । बैतडीमा हालसम्म तीन हजार पाँच सय ९० उद्योग दर्ता भएका छन् । रासस