पाल्पा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्‍यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने छ।’

पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेका उहाँले बताउनुभयो । राष्ट्रियतका हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको विष्टले दाबी गर्नुभयो ।

मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उहाँले आरोप लगाउनुभयो । ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमालेले चुनाव जित्यो भने आर्थिक सामाजिक रुपान्तरण अगाडि बढ्ने छ। अन्यथा यो अभियान रोकिने छ। यस्तो कठिन अवस्थामा हुन गइरहेको निर्वाचनमा एमालेको बहुमतको जित हुने गरी गतिविधि सञ्चालन गर्नुपर्ने छ।

नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का भएको उहाँले बताउनुभयो ।

कांग्रेसलाई इन्जिन र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई डिब्बाको संज्ञा दिँदै उहाँले थप भन्नुभयो, ‘इन्जिनमा लतारिएका डिब्बा कतिबेला चुँडिएर बाटोमा अलपत्र हुनेछन्। अहिले त्यस्तै अवस्थामा माधव कुमार नेपाल र प्रचण्ड पुगेका छन्।’

फरक विचार र सिद्धान्त भएका दलहरूबीचको गठबन्धन स्वार्थ पूरा नभएपछि टुट्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । गठबन्धनको सीट बाँडफाँडकै विषयमा सहमति हुने संभावना कम रहेको नेता विष्टको भनाई थियो ।

सम्बन्धित खबरहरु