काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि करिब १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको छ।

स्थानीय चुनाव र अघिल्लो पटक भएको आम निर्वाचनलाई मद्देनजर गरेर अहिले करिब १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने आँकलन गरिएको प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवश्यक म्यादी प्रहरीको यकिनका लागि नेपाल प्रहरीले जिल्लादेखि केन्द्रसम्म नै निर्वाचन सेल गठन गरी प्रक्रिया अघि बढाइएको छ।

ती सेलले विश्लेषण गरेर आवश्यक म्यादी प्रहरीको संख्या जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई पठाएपछि यकिन विवरण पठाइनेछ। प्रहरी प्रधान कार्यालयले कार्य विभाग प्रमुख सहकुलबहादुर थापाको नेतृत्वमा सेल बनाएको डिआईजी राइले जानकारी दिनुभयो ।

म्यादी प्रहरीको कार्यावधि ४० दिन राख्ने तयारी गरिएको छ । म्यादी प्रहरीमा यसअघिका निर्वाचनमा खटिएका म्यादी र पूर्व सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको सुरक्षामा ७१ हजारभन्दा बढी सेना, करिब ६२ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल र १ लाख म्यादी प्रहरी खटाइएको थियो।

गृहमन्त्रालयका अनुसार आम निर्वाचन २०७४ मा करिब ९८ हजार र त्यही वर्षको स्थानीय निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना भएका थिए।

आसन्न निर्वाचनमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउन सुरक्षा निकायहरु आ–आफ्ना कार्य योजनामा निर्माणमा जुटेका छन्।

सम्बन्धित खबरहरु