वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

शुक्रबार बिहान २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।

बिहान ३ः४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिनुभयो ।

घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो ।

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागि नारायणी अस्पतालमा पठाएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् ।

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग
तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।

सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको छ । सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ ।

सेनेटरी प्याडका अभावमा समस्या हुँदै आएको थाहा पाएपछि सञ्जालका सदस्यबाट रकम सङ्कलन गरी प्याड सहयोग गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “विभिन्न अपराधमा सजाय भोगेका र पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले मानवअधिकारको आधारभूत आवश्यकता पाउनुपर्छ, सेनेटरी प्याड नभएको विभिन्न माध्यमबाट जानकारीमा आएपछि सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

सञ्जालले महिला मानवअधिकार संरक्षणका लागि काम गर्दै आएको छ । त्यस्तै महिलाका अधिकार सुनिश्चित गराउनका लागि सरकारी निकायलाई ध्यानाकर्षण गराउँदै आएको सचिव तिमिल्सिनाले जानकारी दिनुभयो । कारागारमा हाल १२ जना महिला कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । गत फागुनदेखि तनहुँमा महिला बन्दीगृह निर्माण गरी महिला कैदीबन्दी राख्न थालिएको छ ।

“भर्खरै मात्र महिला कैदीबन्दी गृह सञ्चालनमा आएकाले हाम्रो पनि यसतर्फ ध्यान जान सकिरहेको थिएन”, उहाँले भन्नुभयो, “सेनेटरी प्याडका विषयमा विभिन्न माध्यमबाट प्रचार–प्रसारमा आएपछि अन्य सङ्घसंस्थाले पनि यसमा चासो देखाउनुभएको छ ।”

महिला बन्दीगृहको क्षमता २० रहेको थियो । तनहुँमा महिला बन्दीगृह निर्माण भएपछि कास्की पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुराना कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो ।

डेढ लाखको विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा डेढ लाखभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँ र स्थानीय तहमा सञ्चालित घुम्ती शिविरबाट एक लाख ५१ हजार आठ सय एक जनाको विवरण सङ्कलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको दर्तास्थलमा विवरण दर्ताका लागि दैनिक भीड हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले पनि सर्वसाधारणको भीड हुने गरेको गैह्रेले बताउनुभयो ।

जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा वडास्तरबाटै परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो । यस्तै कारागारमा रहेका कैदीबन्दीको पनि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिएको हो ।

कारागारमा रहेको ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “कारागारभित्रै कैदीबन्दीको फोटो खिच्ने, विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएका थियौँ”, उहाँले भन्नुभयो, “पूरा विवरण भएकामध्ये ५५ जनाको विवरण दर्ता भएको छ ।”

राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफँै उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

सम्बन्धित खबरहरु