काठमाडौं । यती एयरलाइन्सको जहाजमा समस्या देखिएको छ । उडेको केही मिनेटमै जहाज पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

शनिबार सवा ७ बजे झापाको भद्रपुरका लागि उडेको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको फ्लाइट केही मिनेटमै फर्काइएको थियो । उडेको दुई तीन मिनेटमा जहाजमा ‘गर्ल्याङ’ आवाज आएको थियो ।

यात्रुहरुका अनुसार त्यस्तो आवाज आउनेवितिकै जहाज पिङ खेलेजस्तो भयो । ७ बजे उड्ने भनिएको जहाज सवा ७ बजे उडेको थियो । तर उडेको दुई तीन मिनेटमै गर्ल्याङ आवाज आयो ।

जानकारी अनुसार त्यसपछि धेरै यात्रुहरुलाई चक्कर आएको थियो । कतिपयले त बान्तासमेत गरे । धेरै जना त डराएर चिच्याउनसम्म थालेका थिए । जहाजमा बस कुदेको जस्तो आवाज आएको यात्रु बताउँछन् ।

एयर होस्टेजहरुलाई सोध्दा मौसम खराबीका कारण यस्तो भएको जवाफ फर्काइन् । जहाज अवतरण भएपछि धेरैले गम्भीर खराबी आएको अड्कलबाजी गरे ।

तर यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीका कारण प्लेन नउडाएको बताए । ती यात्रुहरुलाई आज(आइतबार) १०:१० बजेको टिकट दिइएको हो ।

सम्बन्धित खबरहरु