काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताउनुभयो ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

देशमा ठूलो धनराशि चुनावमा मात्र खर्च हुँदैछ । स्थानीय तहको चुनावमा समेत ठूलो धनराशि खर्च भएको छ ।

गैसस कञ्चनपुरको अध्यक्षमा बोहरा
गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बोहरा चयन हुनुभएको छ । शनिबार सम्पन्न महासङ्घको २२औँ साधारणसभा तथा ११औँ जिल्ला अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । अध्यक्ष बोहरा यसअघि समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।

समितिको उपाध्यक्षमा अमिर तिरुवा, सचिव अञ्जु जोशी, सहसचिव सिबी लुहार चयन भएका छन् । समितिमा नारु सिंह, अम्बादत्त जोशी, ज्ञानेन्द्र महता, लक्ष्मी चन्द, महेश भट्ट, सीता बोहरा, आनन्दी भट्ट, दीपक भट्ट र दुर्गा चाड सदस्य भएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष नरेश सिलालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले साधारणसभा तथा अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा महासघका केन्द्रीय सचिव भवराज रेग्मी, महासङ्घका प्रदेश अध्यक्ष देवी खनाल, महासङ्घका केन्द्रीय सदस्य भगत विकलगायत सहभागी भएका छन् ।

महेन्द्रनगरमा गौरा महोत्सव

कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सव आयोजना गरिने भएको छ । महाकाली साहित्य सङ्गमले गौरा महोत्सवको आयोजना गर्न लागेको हो । महेन्द्रनगर बजारको खुलामञ्चमा महोत्सव अगामी भदौ १६ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । महोत्सवमा सुदूरपश्चिमका देउडासहितका लोकभाका, कला, संस्कृति, पहिरन, वाद्यवाधन, झाँकीलगायत देखाइने सङ्गमका अध्यक्ष हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

महोत्सव आयोजनाका लागि अध्यक्ष जोशीकै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि उपसमितिसमेत गठन गरिएका छन् । सङ्गमले विसं २०७६ चैत ११ गतेदेखि कोभिड–१९ का कारण गत वर्षसम्म गौरा महोत्सव मनाउन पाएको थिएन ।

विसं २०७७ मा गौरापर्व भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाइएको थियो भने २०७८ मा महाकाली साहित्य सङ्गमको कार्यालयमा सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गरी मनाइएको थियोे । अध्यक्ष जोशीका अनुसार लामो समयदेखि हुन नसकेको गौरा यसपालि महोत्सवका रूपमा मनाउने निर्णय गरिएको छ ।

गौरा पर्व पर्वमात्र नभई वर्ग, लिङ्ग, जातजातिलाई जोड्ने माध्यम भएको उल्लेख गर्नुहँुदै उहाँले यस पर्वले समाजिक एकतालाई बलियो बनाउने कार्यसमेत गर्दै आएको बताउनुभयो । सुदूरपश्चिम क्षेत्रको कला, संस्कृतिलाई जीवन्त राख्नका लागि महोत्सव सहायकसिद्ध हुने उहाँको भनाइ छ ।
–––

सम्बन्धित खबरहरु