चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन डर र कर दुवै भएको स्वीकार गर्नुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुवै भएको स्वीकार गर्नुभएको हो । उहाँले भन्नुभयो, म स्वीकार्छु गठबन्धन गर्नुको कारण डर र कर दुवै हो ।

गठबन्धन गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पौडेलले भन्नुभयो, ‘गठबन्धन डर र कर दुवै हो, हामीहरुले गठबन्धन नगरे अरु दलले गर्छन् ।’ त्यो बेला कांग्रेस शुन्य हुन्छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । उहाँहरुले सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिसक्नुभएको छ । शीर्ष नेताहरुको तहमा लगातार छलफल समेत भइरहेको छ ।

कांग्रेस नेता पौडेलले आगामी निर्वाचनका लागि भागबण्डा मिलाउने प्रयास भैरहेको जानकारी दिनुभयो । धरातलीय यथार्थका आधारमा भागबण्डा गरिने नेता पौडेलको भनाइ छ । पौडेलले गठबन्धनमा अरु दल थपिने–नथपिने कुरा आफूलाई जानकारी नभएको बताउनुभयो ।

आफू चितवनबाट निर्वाचन लड्ने कुरा गलत भएको भन्दै नेता पौडेलले तनहुँबाट नै चुनाव लड्ने संकेत गर्नुभयो । चुनावपछि तपाईं प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा नेता पौडेलले अहिले नै प्रधानमन्त्री को बन्छ भन्ने कुरा टुंगो नलागेको बताउनुभयो ।

उहाँले संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन नहुने तर्क अघि सार्नुभयो । ढिलाई गरिएको बारेपनि आपत्ति जनाउँनुभयो ।

सम्बन्धित खबरहरु