काठमाडौं । भारतका चर्चित शेयर व्यापारी राकेश झुनझुनवालाको आइतबार निधन भएको छ । उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिएका हुन् ।

राकेश झुनझुनवालाको उमेर ६२ वर्ष थियो । सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो ।

भारतको वारेन बफेट भनेर चिनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो । त्यसैबेला झुनझुनवाला सार्वजनिक रुपमा देखिएका थिए ।

केही रिपोर्टमा उनको स्वास्थ्य केही समयदेखि नै खराब रहेको देखाएका छन् । राकेश झुनझुनवालाले ४०० कर्मचारीसहित यो कम्पनी सुरु गरेका थिए ।

आकासा एयरलाइन्सले आगामी मार्चसम्ममा मासिक दुई सय गरी दुई हजार कर्मचारी पुर्‍याउने लक्ष्य राखेको थियो । राकेश झुनझुनवालाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । मोदीले लेखेका छन्, ‘राकेश झुनझुनवाला जीवन्त, रमाइलो र तिखो नजर भएका व्यक्ति थिए ।’

राकेश झुनझुनवालाले आर्थिक संसारमा अटल छाप छोडेको प्रधानमन्त्री मोदीले बताएका छन् । उनको निधनलाई दुस्खद भएको भन्दै प्रधानमन्त्री मोदीले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

गत वर्ष राकेश झुनझुनवालाको प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्रै उनको आकासा एयरलाइन्सले सरकारबाट स्वीकृति पाएको खबर पनि आएको थियो ।

सम्बन्धित खबरहरु