काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

पाटनमा उपभोक्ता समितिको अध्यक्ष महिलामात्रै
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।

नगरकार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै राख्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो ।

नगरपालिकाले वडालाई पत्र लेख्दै अगामी भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ भने उपभोक्ता समितिमा महिला अध्यक्ष राख्ने निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, “महिलामात्रै अध्यक्ष हुने नीति ल्याएका छौँ, कार्यान्वयन गर्न सबैलाई आग्रह छ । यसले महिलालाई विकास निर्माणका काममा सहभागी र उनीहरूको क्षमता अभिवृद्धिका लागि सहयोग पुग्छ ।”

चालु आवमा उपभोक्ता समितिबाट काम गराउनुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै राख्नुपर्ने निर्णय गत जेठ १६ गते बसेको प्रथम कार्यपालिका बैठकले गरेको थियो । सो बैठकको निर्णय नं १० मा उपभोक्ता समितिमा महिलामात्रै अध्यक्ष हुनुपर्ने उल्लेख गरिएको छ ।

सबै वडा कार्यालयलाई भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न र त्यस्तो समिति गठन गर्दा महिलामात्रै अध्यक्ष बनाउन आग्रह गरिएको छ ।

 

सम्बन्धित खबरहरु