युवराज विष्ट, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ ।

एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँको माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।

टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका करिब ६०÷७० किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतो राम्रो उत्पादन हुँदै आएको र यसबाट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुने किसानको भनाइ छ ।

एक किसानले २० देखि ५० मन चिराइतो उत्पादन गर्दै आएको यसको व्यावसायिक खेती गरिरहनुभएका स्थानीय किसान देवेन्द्र राउतले जानकारी दिनुभयो । उहाँले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गरिरहनुभएको छ ।

किसान राउतले भन्नुभयो,‘‘हाम्रो क्षेत्र जडीबुटी खेतीको लागि उपयोगी मानिन्छ । यहाँका अधिकांश किसानले चिराइतो खेती गरिहेका छन् । मैले करिब ६२ रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु । यसवर्ष मात्र मेरो २५ मन बढी चिराइतो उत्पादन हुन्छ । आगमी वर्ष ५० मनजति उत्पादन हुन्छ ।’’आठ वर्षदेखि चिराइतोको व्यावसायिक खेती गर्दै आउनुभएका अर्का किसान प्रेम बस्नेतले गतवर्ष चिराइतो बिक्रीबाट रु छ लाख ५० हजार आम्दानी भएको बताउनुभयो । उहाँको गत वर्ष करिब ३५ रोपनी जमिनमा २५ मन चिराइतो उत्पादन गरिएको थियो ।

उत्पादित चिराइतो आफ्नै घरबाट प्रतिमन रु २६ हजारले बिक्री भएको बस्नेतको भनाइ थियो । ‘‘गतवर्ष चिराइतोबाट रु छ लाख ५० हजार आम्दानी लिएँ ’’ उहाँले भन्नुभयो,‘‘यो वर्ष थप २० रोपनीमा विस्तार गरेको छु । गत वर्षको जस्तै मूल्य पाइए यो वर्ष पनि राम्रै आम्दानी हुन्छ ।’’चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने कृषक बस्नेतले जानकारी दिनुभयो । रु ५० हजार आलु मकैबाट आम्दानी हुने बारीमा चिराइतो खेती गरिए रु पाँचलाखदेखि सात लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ थियो । चिराइतोले आलु र मकैभन्दा अलि ढिलो आम्दानी दिन्छ ।

किसान बस्नेतले भन्नुभयो,‘‘हामीले आफूले जानेको पराम्परागत रुपमा खेती गरिरहेका छौँ । हालसम्म राज्यबाट खास सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ बढी आम्दानी गर्न सकिने थियो ।’’

किसानले चिराइतोलाई असोज, कात्तिक महिनामा सङ्कलन गर्ने गर्दछन् । गत वर्ष मूल्य वृद्धि भएका कारण धेरै किसानमा चिराइतो खेतीमा मोह बढेको देखिन्छ । मूल्यमा आउने उतारचडावले भने किसानलाई समस्या हुने गरेको छ । विगतका वर्षमा ४५ मनसम्म चिराइतो उत्पादन भएको बाह्र वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आउनुभएका किसान गुणराज राउतले सुनाउनुभयो । एक रोपनीमा आठ मनसम्म चिराइतो उत्पादन भएको उहाँको भनाइ थियो ।

राउतले हाल २० रोपनीम जमिनमा चिराइतो खेती गरिरहनुभएको छ । यो साल आठदेखि दश मनको हाराहारीमा उत्पादन हुने किसान उहाँको भनाइ थियो । ‘‘मसँग ४५ मनसम्म उत्पादन गरेको अनुभव छ’’ किसान राउतले भन्नुभयो,‘‘यसलाई मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी पाउन सकिन्छ । एक रोपनीमा ८ मनसम्म चिराइतो उत्पादन भयो । एक पटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादन योग्य हुन अलि समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक÷फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ।’’ ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेकोलगायत रोगमा चिराइतो प्रयोग गर्न सकिने किसान राउतको भनाइ छ । यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ ।

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको बताइन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । भोजपुरमा चिराइतोसँगै सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायत जडीबुटीको पनि खेती विस्तार भइरहेको छ ।  (रासस)

सम्बन्धित खबरहरु