काठमाडौं । नेकपा एमालेका सचिव एवं सासंद योगेशकुमार भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउन अपिल गर्नुभएको छ ।

उहाँले एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले उक्त प्रस्ताव गर्नुभएको हो ।

‘काठमाडौंका मेयर बालेनलाई भन्छु, आउनुहोस् ठोस प्रस्तावसहित। नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ।

नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ सांसद भट्टराईले भन्नुभयो, ‘यदि तपाईं यो सरकारको भर पर्नुभयो भने तपाई‌ असफल हुने निश्चित छ। काठमाडौंको बर्बादी हुने छ।’

त्यस्तै, सांसद भट्टराईले देउवा सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुत्ती नरहेकोले ध्यानाकर्षण पनि नगर्ने बताउनुभयो ।

‘काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास थियो। यो पटक ७१ दिन भयो। प्रधानमन्त्रीले कुनै पहल गर्नु भएको छैन, सम्बन्धित मन्त्री बेखबर छन्।

काठमाडौंको फोहोरले झाडापखाला, हैजा निम्त्याएको छ,’ सांसद भट्टराईले भन्नुभयो, ‘यो सरकारले कुनै पहल कदमी गर्न सक्दैन। यो सरकारको हुत्ती पनी छैन। त्यसैले म यो सरकारलाई ध्यानाकार्षण पनि गर्दिनँ।’

सम्बन्धित खबरहरु