काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन मेयर बालेन्द्र (बालेन) साहका लागि ठूलो चुनौती भैसकेको छ ।

यसबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि काठमाडौं शहरको विजोगबारे बोल्नु भएको हो ।

धरान उपमहानगरको विकास निर्माण सम्बन्धी कामका कारण यहाँ आउनु भएका उहाँले महानगरको नाजुक अवस्था देखेर श्रमदान गर्न मन लागेको भन्दै प्रतिकृया दिनुभयो ।

आइतबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उहाँले लेख्नुभयो, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा-खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

तपाईंलाई जानकारी गराउ कि ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरको फोहोर उठ्न सकेको छैन । सोही कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रेको छ ।

फोहोर व्यवस्थापन फितलो हुँदा शहर गन्हाइरहेको छ । धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुनु भएका उहाँले श्रमदानका लागि धरानका जनतालाई उत्प्रेरित गर्दै आउनु भएको छ ।

बालेन र हर्क दुवैजना ठूला दलका उम्मेदारलाई हराउँदै स्वतन्त्रबाट मेयर बन्नु भएको हो ।

सम्बन्धित खबरहरु