दैनिक १२ वटा नक्कली लाइसेन्स

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १८ माघ, २०७१

काठमाडौं, माघ १८ – ललितपुरस्थित यातायात व्यवस्था कार्यालयबाट दैनिक १२ वटा नक्कली चालक अनुमतिपत्र बिक्री हुने गरेको पाइएको छ । नक्कली अनुमतिपत्र बनाउने गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो । प्रहरीले यातायात कार्यालय अगाडि बसेर अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । नक्कली सेवाग्राही बनेर गएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका कर्मचारीले गिरोहका ती दुई जनालाई पक्रेका हुन् । पक्राउ परेकामा काठमाडौं सुनडोल गाविसका श्यामकृष्ण डंगोल र ललितपुर कुसुन्तीका रमेश नापित छन् । गिरोहका अन्य दुई फरार रहेको प्रहरीले जनायो । महाशाखा प्रमुख नायब महानिरीक्षक (डीआईजी) केशव अधिकारीले दुर्घटनाका धेरैजसो कारण चालकको लापरबाही भएको बताए । उनले भने, ‘दुर्घटनामा पर्ने अधिकांश चालकको अनुमतिपत्रसमेत नक्कली पाइयो ।’ उनका अनुसार गिरोहले पछिल्लो ६ वर्षदेखि नक्कली अनुमतिपत्र बनाउने गरेका थिए । उनीहरू यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नक्कली अनुमतिपत्रलाई सक्कली रूप नै दिलाउँथे ।  ‘बाहिर बसेर नक्कली अनुमतिपत्र तयार गरेपछि यातायात व्यवस्था कार्यालयभित्रै गएर सक्कली छाप हान्ने गरेका रहेछन्,’ डीआईजी अधिकारीले भने, ‘यातायातको ढड्डामा दर्ता भए/नभएको अनुसन्धान हुँदैछ ।’ सक्कली कार्ड र स्टिकर कृष्णमुरारी नाम गरेका व्यक्तिले कार्यालयबाटै ल्याइदिने गरेको प्रहरीले जनायो ।

प्रहरीका अनुसार यातायात कार्यालयबाट जारी भएका पुराना अनुमतिपत्रको नम्बर, व्यक्तिहरूको सवारी चालक अनुमतिपत्र नम्बर कर्मचारीले नै ती व्यक्तिलाई उपलब्ध गराउने गरेको पाइएको छ । यस्तै, सर्वसाधारणले अनुमतिपत्र लिएको पाँच वर्षमा नवीकरण गर्दा बुझाइएको सवारी चालक अनुमतिपत्रको नम्बरसमेत यो गिरोहले पाउने गरेका थिए । गिरोहले प्रतिदिन १२ वटा नक्कली सवारी चालक अनुमतिपत्र बनाइदिने स्वीकारेको छ । एउटा सवारी चालक अनुमतिपत्र १५ देखि १७ हजार रुपैयाँमा बिक्री हुने पाइएको छ । नक्कली अनुमतिपत्रहरू धेरैजसो विदेश जाने व्यक्तिले मोटो रकम तिरेर लैजाने गरेको प्रहरीको भनाइ छ । ‘यहाँ मोटरसाइकल मात्र चढ्नेले विदेश जाँदा गाडीको पनि लाइसेन्स लैजान खोज्छन्,’ डीआईजी अधिकारीले भने । प्रहरीले गिरोहबाट ५२ वटा लाइसेन्स बनाउने खाली कार्ड, छाप, दस्तखत र ३५ थान फोटो भएको तयारी लाइसेन्स पनि बरामद गरेको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७