काठमाडौं । सम्बन्धविच्छेदको मुद्दा चल्दै गर्दा श्रीमानले श्रीमतीको ज्यान लिएका छन् ।

भारत, कर्नाटकको हसनमा रहेको पारिवारिक अदालतमा एक व्यक्तिले आफ्नी श्रीमतीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणपछि ती व्यक्तिले भाग्ने प्रयास गरे तर मानिसहरूले उनलाई पक्रेर प्रहरीलाई बुझाए ।

घटनापछि महिलालाई अस्पताल पुर्याइएपनि उपचारको क्रममा उनको मृत्यु भयो । सम्बन्धविच्छेदका लागि श्रीमान श्रीमती परिवार अदालत गएका थिए ।

एनडीटीभीको रिपोर्टका अनुसार आरोपीको नाम शिवकुमार र मृतकको नाम चैत्र हो । दुवैले सात वर्षअघि विवाह गरेका थिए । पारिवारिक अदालतमा दुवैले आफ्नो सात वर्षको वैवाहिक जीवनलाई बचाउन खोजेका थिए । उनीहरु दुवैलाई करिब एक घण्टासम्म परामर्श दिइएको थियो ।

समाचार अनुसार जब चैत्र परामर्श लिएर शौचालय गइन्, शिवकुमार पनि उनको पछि लागे । उनले शौचालय बाहिर नै चैत्रमाथि धारिलो हतियार प्रहार गरेका हुन् । जसका कारण चैत्रको धेरै रगत पनि बग्यो ।

रिपोर्टका अनुसार अभियुक्त शिवकुमारले आक्रमणपछि भाग्ने प्रयास गरेका थिए । तर मानिसहरूले उनलाई समातेका हुन् । आक्रमणपछि पीडितलाई अस्पताल लगियो । तर घाँटीमा लागेको घाउ निकै गहिरो थियो । रगत धेरै बगेका कारण उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस प्रकरणमा प्रहरीको पनि बयान आएको छ । हसन जिल्लामा तैनाथ प्रहरी अधिकारी हरिशङ्करले भने, ‘अदालतमा घटना भएको हो । हामीले अभियुक्तलाई हिरासतमा लिएका छौं ।

हामीले जुन हतियार प्रयोग गरेर अपराध भएको थियो त्यो पनि बरामद गरेका छौं । अभियुक्तले यो सब परामर्शपछि किन गरे भन्ने कुराको हामी अनुसन्धान गर्नेछौं ।

कसरी हतियार अदालतमा ल्याइयो भन्ने कुराको पनि सोधखोज हुन्छ ।’ आरोपी विरुद्ध आईपीसीको धारा ३०२ अन्तर्गत हत्याको मुद्दा दर्ता गरिएको छ । यसअघि शिवकुमारविरुद्ध घरेलु हिंसाको एफआईआर दर्ता भएको थियो ।

सम्बन्धित खबरहरु