काठमाडौं । दुनियाँका हरेक देशमा रुढीवादी सोच पाइन्छ । नेपालमा अहिले पनि दाइजो कुप्रथा प्रचलनमा रहेको छ ।

आज हामी यस्तै एक संस्कारका बारेमा कुरा गर्न गइरहेका छौँ । इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ ।

कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्दछ । विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन् ।

इरानकी साराको विवाह पनि मुस्किलले भएको हो । पहिलो पटक सम्भोग गरेपछि साराका पतिले भनेका थिए, ‘तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ । सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो ।’

सम्भोग गर्दा मरियमको रक्तस्राव नभएका कारण उनका श्रीमानले यो सब कुरा सुनाएका हुन् । उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन् । तर उनका पतिले पत्याएनन् । सारासँग उनी कुमारी भएको प्रमाणपत्र समेत मागे ।

इरानमा मरियमसँग भएको यो घटना कुनै नयाँ कुरा होइन । विवाहको कुरो छिनेपछि धेरै महिला चिकित्सककहाँ जान्छन् । त्यहाँ एक किसिमको परीक्षण हुन्छ, जसबाट उनीहरूले बिहेअघि कहिल्यै यौन सम्पर्क राखे/नराखेको प्रमाणित गर्छ ।

डब्ल्यूएचओका अनुसार कुमारीत्व परीक्षणको कुनै वैज्ञानिक आधार हुँदैन् । साराको प्रमाणपत्रमा उनको हाइमन (कुमारी झिल्ली) ‘इलास्टिक’ अर्थात् तन्किने प्रकृतिको भएको जनाइएको छ । जसकारण मैथुन गर्दा उनको यौनाङ्गबाट रगत ननिस्किन पनि सक्छ । उनी भन्छिन्, ‘यसले मेरो आत्मसम्मानमा चोट पुर्‍यायो ।

मैले कुनै गल्ती गरेकी थिइनँ तर मेरा पतिले सधैँ मेरो अपमान गरिरहे । मैले सहनै सकिनँ । त्यसैले केही औषधि खाएर मैले आत्महत्या गर्ने प्रयास गरेँ ।’ त्यतिबेला उनलाई तत्काल अस्पताल लगेपछि उनी बाँचिन् । त्यस समयलाई याद गर्दै उनी भन्छिन्, ‘म ती पीडादायी दिनहरू कहिले पनि भुल्न सक्दिनँ । त्यतिबेला मेरो जीउ २० किलो घटेको थियो ।’

माग
मरियमको जस्तै कथा अरू इरानी महिलाहरूसँग पनि छ । विवाहअघि शारीरिक सम्बन्ध नराख्नु अझै पनि धेरै महिला र उनीहरूको परिवारका लागि महत्त्वपूर्ण विषय हो ।

इरानको रूढीवादी समाजमा यो मान्यता बलियोसँग बसेको छ । तर केही समययता परिवर्तन देखा पर्न थालेको छ । देशभरका महिला तथा पुरुषहरूले कौमार्य परीक्षणविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् ।

उक्त अभियानअन्तर्गत गत नोभेम्बरमा सञ्चालित एउटा अनलाइन याचिकामा एक महिनाभित्र २५,००० जनाले हस्ताक्षर गरेका थिए । त्यतिबेला इरानमा कुमारीत्व परीक्षणलाई पहिलो पटक धेरै मानिसले सार्वजनिक चुनौती दिएको थियो ।

नेडाले भनिन्, ‘त्यसो गर्नु गोपनीयता भङ्ग गर्नु हो र यो निकै अपमानजनक कार्य हो ।’ उनले १७ वर्षको उमेरमा राजधानी तेहरानमा पढ्दै गर्दा आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राखेकी थिइन् ।

उनी भन्छिन्, ‘म आत्तिएकी थिएँ । परिवारले थाहा पायो भने के होला भनेर डराएकी थिएँ ।’ त्यसैले नेडाले आफ्नो हाइमन फेरि मर्मत गर्ने निर्णय गरिन् । त्यसको उपचारविधि अवैधानिक छैन् ।

तर यसको सामाजिक प्रभाव निकै डरलाग्दो हुने भएकाले कुनै अस्पताल पनि शल्यक्रिया गरेर हाइमन मिलाउने काममा गर्न तयार हुँदैनन् । नेडाले धेरै पैसा तिरेर त्यस्तो उपचार गरिदिने निजी क्लिनिकबारे थाहा पाइन् । उनले भनिन्, ‘मैले आफूसँग भएको सबै पैसा खर्च गरेँ । ल्यापटप, फोन र सुनका गरगहना सबै बेचेँ ।’

उपचारका क्रममा केही अप्रिय घटना भए त्यसको सबै जिम्मेवार आफू हुने सर्तमा नेडाले हस्ताक्षर गरिन् । त्यसपछि एक सुँडिनीले उपचारविधि थालिन् । त्यस कार्यको लागि करिब ४० मिनेट लाग्यो । तर नेडालाई पूरा निको हुन धेरै साता लाग्यो ।

सो कुरा याद गर्दै उनले भनिन्, ‘म निकै पीडामा थिएँ । म खुट्टा चलाउन सक्ने अवस्थामा पनि थिइनँ ।’ उनले यो सबै कुरा परिवारबाट लुकाएर राखेकी थिइन् । उनी भन्छिन्, ‘मलाई निकै एक्लो महसुस भयो । अरूले सबै कुरा थाहा पाउलान् भन्ने डरले गर्दा नै मैले त्यो पीडा लुकाउन सकेकी हुँला ।’

एक वर्षपछि उनले आफूलाई मन पराउने र बिहे गर्न चाहने पुरुष भेटिन् । उनीसँग शारीरिक सम्पर्क गर्दा नेडालाई रक्तस्राव भएन । नेडाले यसअघि भोगेको सबै दु:ख व्यर्थ भयो । त्यसपछि उनलाई प्रेमीले विवाह गर्नका निम्ति छल गरेको आरोप लगाएर ढाँटेको भन्दै छोड्यो ।

दबाव
डब्ल्यूएचओले कुमारीत्व परीक्षणलाई अनैतिक र वैज्ञानिक आधार नभएको ठहर गरे पनि इन्डोनेशिया, इराक र टर्कीसहित धेरै देशमा अझै पनि यो प्रचलन कायम छ ।

इरानी मेडिकल सङ्गठनले मुद्दा पर्दा र बलात्कारको घटनाजस्ता विशेष परिस्थितिमा मात्र कुमारीत्व परीक्षण गर्न सकिने जनाएको छ । यद्यपि कुमारी भएको प्रमाणपत्र लिने खोज्नेमध्ये अधिकांश विवाह गर्न लागेका जोडी छन् ।

त्यसैले उनीहरू निजी क्लिनिकमा जान्छन् । उनीहरूसँग प्राय: आमाहरू पनि जान्छन् । स्त्रीरोग विशेषज्ञ वा सुँडिनीले परीक्षण गर्छन्, कुनै युवती कुमारी भएको प्रमाणीकरण गर्छन् ।

उक्त प्रमाणपत्रमा युवतीको पूरा नाम, उनको बुवाको नाम, राष्ट्रिय परिचयपत्र र कहिलेकाहीँ तस्बिर पनि हुन्छ । त्यसमा उनको हाइमनको अवस्थाबारे उल्लेख गरिएको हुन्छ, जसमा लेखिएको हुन्छ, ‘यी युवती कुमारी भएको देखिन्छ ।’

रूढीवादी परिवारहरूमा उक्त प्रमाणपत्र प्राय: आमाहरूसहित दुई जनाले हस्ताक्षर गर्छन् । डा. फरिबाले वर्षौँदेखि यस्तो प्रमाणीकरण गर्दै आएकी छन् । यो अपमानजनक अभ्यास भएको स्वीकार गरे पनि उनी व्यवहारमा आफूले धेरै महिलाहरूलाई सहयोग पुर्‍याइरहेको विश्वास गर्छिन् ।

उनले भनिन्, ‘उनीहरू अधिक पारिवारिक दबावमा हुन्छन् । कहिलेकाहीँ मैले केही जोडीका लागि झूटो बोल्नुपर्छ । यदि उनीहरूले शारीरिक सम्बन्ध राखेका छन् र विवाह गर्न चाहन्छन् भने म उनीहरूको परिवारका अगाडि युवती कुमारी नै भएको बताइदिन्छु ।’

तर धेरै पुरुषहरूका निम्ति बिहे गर्न लागेकी महिला कुमारी रहनु सबैभन्दा ठूलो विषय हो । शिराजस्थित ३४ वर्षीय अलिले भने, ‘यदि महिलाले विवाहअघि कौमार्य गुमाइन् भने उनी विश्वास गर्न योग्य मानिन्नन्। उनले परपुरुषको लागि आफ्नो श्रीमान् छोड्न सक्छिन् ।’

उनले १० जना महिलासँग आफूले यौन सम्बन्ध राखेको बताए । उनले भने, ‘मैले नाइँ भन्नै सकिनँ ।’ अलि इरानी समाजमा विरोधाभास भएको स्वीकार गर्छन् तर त्यस्तो परम्परा छोड्नुपर्ने कुनै कारण नदेखेको पनि बताउँछन् ।

उनको विचारमा सामाजिक मूल्य मान्यतामा महिलाको तुलनामा पुरुष बढी स्वतन्त्र भएको स्वीकार्य छ । इरानको निकै ग्रामीण र रूढीवादी क्षेत्रमा अलिको जस्तै दृष्टिकोण भएका धेरै मानिसहरू भेटिन्छन् ।

कुमारीत्व परीक्षणविरुद्ध ऐक्यबद्धता देखाउन प्रदर्शन भए पनि सरकार र सांसदहरूले यसलाई हटाउन केही गर्लान् भन्ने कुरामा धेरैको आशंका छ । इरानी समाजमा यो प्रथा गढेर बसेको हुनाले धेरैलाई यो तत्काल हट्छ जस्तो लाग्दैन ।

परिवर्तन
आत्महत्या गर्ने प्रयास र हिंसात्मक पतिसँग चार वर्ष बसेपछि साराले सम्बन्धविच्छेद गरिन् । उनी केही साताअघि मात्र छुट्टिएकी हुन् । उनले भनिन्, ‘कुनै पुरुषलाई पुन: विश्वास गर्नु निकै कठिन हुनेछ । म निकट भविष्यमा विवाह गर्ने कुरा कल्पना पनि गर्न सक्दिनँ ।’

अन्य हजारौँ महिलासँगै उनले पनि कौमार्य प्रमाणीकरणसम्बन्धी अनलाइन याचिकामा हस्ताक्षर गरिन् । उनलाई तत्काल वा आफ्नो जीवनकालभरि परिवर्तन हुन्छ जस्तो लाग्दैन ।

तर कुनै दिन आफ्नो देशमा महिलाहरूले समानता पाउँछन् कि भन्ने उनको आशा भने मरेको छैन् । उनले भनिन्, ‘यो कुनै दिन हुनेछ । म आशा गर्छु भविष्यमा कुनै पनि महिलाले मैले जस्तो परिस्थिति भोग्नुपर्ने छैन ।’ बीबीसी नेपाली सेवाबाट

नोट : यो सामग्रीमा अन्तर्वार्ता लिइएका सबै व्यक्तिको नाम गोपनीयता कायम गर्नका लागि परिवर्तन गरिएको छ।

सम्बन्धित खबरहरु