काठमाडौं । भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार तीन सय ८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार ६९ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १४ हजार दुई सय ३८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख २३ हजार आठ सय चार जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोडभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

सम्बन्धित खबरहरु