काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेट गर्नुभएको छ ।

सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा दुई नेताबीत भेटवार्ता भएको हो । भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भयो ।

राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले नेकपा एमालेसँग आगामी निर्वाचनमा तालमेल गर्न चाहनु भएको छ ।

गत २०७४ को प्रतिनिधिसभा चुनावमा पनि उहाँहरू सूर्य चिह्न लिएर चुनावी मैदानमा गएर निर्वाचित हुनु भएको थियो । त्रिपाठी ओली सरकारमा छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री समेत बन्नुभयो ।

गुप्ता एमाले प्रवेश गर्दा त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएर राजनीतिक गरिरहनु भएको छ । सोमबार भएको भेटमा चुनावमा ‘मिलेर जाऊँ’ भन्ने कुराकानी भएको त्रिपाठीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचनको वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउने अवस्था छैन् । सोही कारण गठबन्धन अनिवार्य भएको उहाँको बुझाई रहेको छ । तर नेकपा एमाले चुनाववअघि गठबन्धन गरेर जाने कुराको पक्षमा देखिएको छैन् ।

चुनावपछि हुने गठबन्धन अवसरवादी हुने त्रिपाठी बताउँनुहुन्छ । सत्ताधारी गठबन्धन बनेको भन्दै त्रिपाठीले ओलीलाई विपक्षीले पनि मिलेर गठबन्धन बनाएर निर्वाचनमा जानुपर्छ भन्ने तर्क गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको सम्बन्धमा पनि दुई नेताबीच कुरा भयो । हिजो ओली सरकारले पनि संसदबाट पास गरेको जस्तै नागरिकता विधेयक अहिलेको सरकारले ल्यायो ।

तत्कालिन ओली सरकारका पालामा प्रतिनिधिसभा विघटन भएपछि अध्यादेश नै ल्याएको स्मरण गर्दै त्रिपाठीले विधेयक हरहालतमा पास हुनुपर्ने कुराका जोड दिनुभयो । जवाफमा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीले पठाउनुभएको सन्देश हेर्न नपाएको भन्दै टार्न खोज्नुभयो ।

सम्बन्धित खबरहरु