काठमाडौं । बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ ।

‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ ।

बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो ।

उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्याङ्कले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाएको बताउनुभयो ।

सन् २०१९ को अन्त्यतिर चीनमा पहिलो पटक लागेको कोभिडबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या कम गर्न खोपले मद्दत गरेको भए तापनि हालको खोप मुख्यतया रोगको पहिलेको स्ट्रेनलाई लक्षित गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत जुलाईमा ओमिक्रोन उपप्रजातीको फैलावट र नियन्त्रणका उपायहरू हटाइएका कारण अझै महामारी अन्त्य नभएको बताएको थियो ।

सम्बन्धित खबरहरु