काठमाडौं । नेपाली फिल्मका महानायक राजेश हमाल दुबई पुगेका छन् । 'नेपाल इभ टुरिजम टुर दुबई २०२२' मा प्रस्तुती दिन उनी श्रीमती मधुसँग दुबई पुगेका हुन् ।

उनीहरुको त्यहाँ नीजि भ्रमण समेत रहेको छ ।

महानायक हमाल फिल्म ‘मायाको माया’मा अभिनेता राजेश हमाल अनुबन्धित भएका छन् । भदौ ९ गतेदेखि छायांकन सुरु हुने फिल्ममा हमालले हिप्नोथेरापिस्टिक चिकित्सकको भूमिका चित्रण गर्दैछन् ।

पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा आना शर्मा र अनुपविक्रम शाहीले पति पत्नीको भूमिका निर्वाह गर्नेछन् । रोहितकरण वैद्यले निर्देशन गर्ने फिल्मबाट सर्वाङ्गी पाण्डेले डेब्यु गर्दैछिन् ।

हमाल सोमबार बिहान दुबई भ्रमणमा निस्किएका हुन् । पत्नी मधुलाई लिएर त्यसतर्फ लागेका हमालले भदौ ५ गते नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले गर्ने ‘नेपाल इभ टुरिजम टुर’ कार्यक्रममा भाग लिनेछन् ।

प्रायः एक्लै विदेश भ्रमणमा निस्कने हमाल यसपटक चाहिं पत्नी मधुलाई लिएर घुम्न निस्किएका हुन् । हमाल दुबईमा झण्डै एक साता भन्दा बढी समय रहनेछन् । त्यसक्रममा दुबई घुमघामदेखि डायस्पोराका अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् ।

दुबईबाट फर्किएपछि हमाल भारतको बैंग्लोरमा सद्गुरुको अन्तर्वार्ता लिन जानेछन् । सेप्टेम्बर १ मा त्यहाँबाट फर्किएपछि उनले ‘मायाको माया’ छायांकन सेट ज्वाइन गर्नेछन् ।

ड्रिम हाई नेपाल ईभेन्ट म्यानेजमेन्ट कम्पनी र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको संयुक्त आयोजनामा आगामी अगष्ट २१ तारिखमा युएईको दुबईस्थित वल्ड ट्रेड सेन्टरमा ‘नेपाल ईभ टुरिजम टुर दुबई–२०२२’ कार्यक्रम हुनेछ ।

कार्यक्रममा महानायक राजेश हमालसहित नायिकाहरु स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, सन्दीप क्षेत्री, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, मोडल अञ्जली अधिकारी, तेरिया फौजा मगर र गायिका स्मिता दाहाल समेतको उपस्थित हुने आयोजक कमिटीका सदस्य जिवन सिंह ठकुरीले जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संवर्धन तथा प्रचारप्रसार गर्दै ड्रिम हाई नेपालले नेपाल ईभ टुरिजम टुर कार्यक्रम मार्फत अझैपनि नेपालका ग्रामिण ठाउँहरुमा एम्बुलेन्स सेवाको पहुँच नभएको सन्दर्भमा मानविय सामाजिक उद्देश्य राखि नेपाल बाहिर हङकङ, कतार, मलेसिया भारत, जापान, बेलायत लगायतका विभिन्न देशका शहरहरुमा कार्यक्रम आयोजना गरिरहेको आयोजक ड्रिम हाई नेपाल ईभेन्ट म्यानेजमेन्ट कम्पनीका सञ्चालक कमल जिसीले जानकारी गराए ।

विकास खतिवडा, कमल जिसी र बिजय बस्यालले सुरुवात गरेको यस कार्यक्रमलाई युएई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले संयोजन गरिरहेको छ ।

साथै विभिन्न देशहरुमा गरिने यसप्रकारका कार्यक्रमहरुबाट सङ्कलित रकमले नेपालका सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने उदेश्य रहेको पनि आयोजक कमिटीका सदस्य सिंहले जानकारी गराए ।

उक्त कार्यक्रममा सहभागी हुनेहरुका लागि युएईका सबै राज्यबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ ।

सम्बन्धित खबरहरु