काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा अनौठो मृत्यु भयो । एक जना युवक जो दिनभर गाईजात्रामा महादेवको रुपमा सहर घुमे ।

जात्रा समापनको क्रममा अधिकांश जात्रामा सहभागी भएकाहरु नजिकैको सानो पोखरीमा नुहाउन गए । त्यहाँ नुहाउने डुब्ने पहिले देखिकै चलन हो । उभिदा मानिस डुब्ने खालको पोखरी छैन ।

तर त्यही पोखरीमा कीर्तिपुर नगरपालिका–१ सलिछेँ बस्ने २४ वर्षीय गोविन महर्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोविन आइतबार राति सवा १० बजे बाघभैरव मन्दिर नजिकै रहेको देवपोखरीमा डुबेको अवस्थामा फेला परेका थिए । पोखरीमा डुबेका उनलाई निकालेर बल्खुस्थित बयोधा अस्पातल लगिएको थियो।

त्यहाँ राति साढे १० बजे मृत घोषणा गरिएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।

शनिबार कीर्तिपुरमा गाईजात्रा मनाइएको थियो। गाईजात्रामा कीर्तिपुरमा देवताको नाच पनि देखाइन्छ। त्यस नाचमा व्यंग्य गर्न स्थानीयहरूले विभिन्न रूप धारण पनि गर्छन्।

गोविनले महादेवको रूप धारण गरेका थिए। आफ्नो शरीरलाई पुरै कालो रंगले ढाकेर उनले महादेवको रूप धारण गरेको वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनले जानकारी दिनुभयो ।

‘हाम्रो जात्रा भइरहेको थियो। उहाँले चाहि महादेवको अवतार लिएर दिनभर कीर्तिपुरमा घुम्नुभयो। मेरो आफन्त पनि हो,’ उहाँले भन्नुभयो, ‘राम्ररी नै रमाइलो गरिराख्नुभएको थियो। हेर्दा पनि डरलाग्दो रूपमा हुनुहुन्थ्यो।’

गाईजात्रा भित्र्याएपछि फेरि कीर्तिपुरमा लाखेलाई राँगोको टाउको–खुट्टा दिएर जात्रा गरिने उहाँले बताउनुभयो ।

त्यसबेला थुप्रै मानिसहरू जात्रा हेर्न भेला भएका थिए। वडाध्यक्ष महर्जन आफैं पनि त्यही पुग्नुभएको थियो ।

‘लाखेलाई टाउको र खुट्टा दिने जात्रा भइरहेको थियो। म पनि त्यही थिएँ,’ उहाँले भन्नुभयो, ‘सयौं मानिसहरू भेला भएका थिए। अरू पनि पौडी खेलिरहेका थिए,’ वडाध्यक्ष महर्जनले भन्नुभयो , ‘अब दिनभर घुमेको मान्छे थाक्यो पनि होला। राति फेरि पौडी खेल्दा झन् थाकेको हुनसक्छ ।

थाकेको बेलामा पौडी खेल्न भन्दै पोखरीमा पसेका उनी पछि निस्केनन्। पोखरीबाट ५ मिनेटसम्म ननिस्केपछि अरू साथीहरूले निकालेको वडाध्यक्ष महर्जनले बताउनुभयो ।

‘५ मिनेटसम्म पनि ननिस्केपछि साथीहरूले खोजेर निकालेका रहेछन्,’ उहाँले भन्नुभयो, ‘पछि मृत्यु भइसकेको रहेछ।’ त्यही मृत्यु भएको देखिन्छ । उहाँको शव पोष्टमर्टम गर्न टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।

सम्बन्धित खबरहरु