काठमाडौं । एक होटलमा महिला र पुरूष मृत भेटिएका छन् । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका दुई जना मृत फेला परेका हुन् ।

मृतकहरु धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा रहेका छन् ।

उनीहरु बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलमा मृत भेटिएका हुन् । उनीहरु आइतबार राति सँगै बास बस्न भनेर आएका थिए ।

तर सोमबार बिहान कोठामा जाँदा दुवैजना मृत भेटिए । पुष्पा पलङमा उत्तानो परेको अवस्थामा थिइन् भने सिताराम कोठाको पंखामा झुण्डिएको अवस्थामा थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले यसको पुष्टि गर्नुभयो । महिलाको थर र घरको पूरा ठेगाना खुलेको छैन् ।

तर उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने कुरा बाहिर आएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । रिर्पोटपछि मृत्युको सही कारण खुल्नेछ ।

सम्बन्धित खबरहरु