काठमाडौं । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पछिल्लो १ महिनाभित्र लगातार तीन पटक सस्तो मूल्यमा पेट्रोलियम पदार्थ आपूर्ति गरिरहे पनि नेपाल आयल निगमले नेपाली उपभोक्ताका लागि मूल्य सस्तो बनाएको छैन ।

निगमले मङ्गलबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गए पनि आफ्नो घाटा देखाउँदै मूल्य घटाउने अवस्था अझै नआएको र पुरानै मूल्य यथावत् राख्ने बताएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मङ्गलबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल र पेट्रोलको मूल्य घटेर आएको हो ।

निगमले आफ्नो घाटा रहेको भन्दै मूल्य नघटाएको यो निरन्तर तेस्रो पटक हो । आईओसीले पठाएको पछिल्लो सूचीअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक रुपैयाँ ८० पैसा र डिजेलको मूल्य चार रुपैयाँ ८० पैसा घटेर आएको छ ।

यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले सस्तो भएको छ तर निगमले भने हालकै मूल्य यथावत् राखेको छ ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मूल्य नघटाउँदा पनि अझै निगमलाई मासिक ६२ करोड ५८ लाख रुपैयाँ घाटा रहेको दाबी गर्नुभयो ।

पछिल्लो सूचीअनुसार निगमलाई पेट्रोलमा चार रुपैयाँ ७४ पैसा नाफा छ । तर, डिजेलमा चार रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।

“मूल्य घटेर आए पनि घाटा धेरै भएकाले तत्काल मूल्य घटाउन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “डिजेल र ग्यासमा घाटा धेरै छ, परल मूल्यमा आउनसाथ मूल्य घटाउने छौँ ।”

निगमलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै बाँकी रहेकाले पनि अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको जिकिर उहाँको छ ।

निगमका अनुसार सरकार र वाणिज्य बैङ्कबाट लिइएको १० अर्ब ऋण र आईओसीको २३ अर्ब बक्यौता गरी ३३ अर्बको भार छ ।

सरकारले कर समायोजन गर्ने भनेर ११ असारमा पेट्रोलमा २० र डिजेलमा २९ रुैपयाँ घटाएको थियो । तर, कर समायोजन नगरिएकाले त्यो पनि निगम कै भारमा परेको दाबी दानीको छ ।

यद्धपि कर समायोजन गर्ने विषयमा अहिले पनि प्रयास जारी रहेको थानीको भनाइ छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ रुपैयाँ र डिजेलको १७२ रुपैया छ । ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ छ ।

सम्बन्धित खबरहरु