काठमाडों ।  उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौँ– १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौँमा पेस गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो ।

विद्युत् महसुल ३० करोड सङ्कलन
नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ ।

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ ।

केद्रका अनुसार आव २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरुबाट रु ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमि आएको छ ।

नौ सय ४७ सेवाग्राहीको रु नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट रु तीन करोड चार लाख ९७ हजार असूल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४४७ रहेको छ । आव २०७८÷७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा रु ३७ लाख ५० हजार खर्च गरेको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८÷७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार तीन सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ । रासस

सम्बन्धित खबरहरु