काठमाडों । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको विकास निर्माण र लोकतान्त्रिकरणमा बेलायतले निरन्तर गरिरहेको सहयोगको प्रशंसा गर्नुभयो ।

साथै उहाँहरूबीच नेपाली वायुसेवालाई युरोपेली युनियन (इयु) ले गरेको कालो सूचीबाट हटाउने विषयमा छलफल भएको थियो । इयुले नेपाली वायुसेवालाई कालो सूचीमा राख्दा बेलायतमा समेत नेपाली वायुसेवाले उडान भर्न सकेको छैन ।

सो अवसरमा राजदूत पोलिटले नेपालको विकास निर्माणका साथै प्रजातन्त्र र मनावअधिकारका क्षेत्रमा बेलायतको सहयोग जारी रहने बताउनुभएको थियो ।

महाअभियोग सिफारिस समितिको बैठक ः कार्यतालिका ल्याउने
महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सो सम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ ।

सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोगबारे समय छोटो भएको हुनाले सो सम्बन्धी विषयमा जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राख्नुभएको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भन्नुभयो, “प्रधानन्यायाधीशलाई महाभियोग ठहर्नैपर्छ भन्ने छैन, ठहर्नै हँुदैन भन्ने पनि छैन, दोषी भए दोषी वा निर्दोष भए निर्दोष भन्न तयार छौँ ।”

सभापति पोखरेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वन्यायाधीश रणबहादुर बम लगायतमाथि महाभियोग दर्ता भएर अघि नबढेको स्मरण गर्दै कार्यविधिको खाका आएको हुनाले अध्ययनका लागि समय चाहिने र एक महिनाभित्र कसरी टुङ्गोमा लगाउन सकिन्छ भन्ने कार्यविधि तथा कार्यतालिका तय गर्नुपर्ने धारणा राख्नुभयो । सांसद लालबाबु पण्डितले महाभियोग प्रस्ताव दर्ता गर्ने व्यक्तिहरुले यसलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

सांसदहरु यशोदा गुरुङ सुवेदी, मीनबहादुर विश्वकर्मा, इकवाल मियाँ, कल्याणी खड्का, प्रमोद साह, शिवमाया तुम्बाहाङ्फेले महाअभियोगको प्रस्ताव दर्ता गरेको छ महिना बितिसकेको हुनाले एक महिनाभित्र सम्पूर्ण काम सक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुभयो । समितिका सभापति विष्टले आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरिने गरी आज सदस्यलाई मस्यौदा वितरण गरिएको बताउनुभयो । उहाँले अर्को सूचना नआएसम्मका लागि बैठक स्थागित भएको जानकारी गराउनुभयो ।

समितिका सदस्यसचिव लक्ष्मीप्रसाद गौतमले आगामी बैठकमा सभापति चयन गरिने र सचिवालयले कार्यतालिका प्रस्तुत गर्ने जानकारी दिनुभयो ।रासस

सम्बन्धित खबरहरु