काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्‍याउन आग्रह समेत गर्नुभयो ।

उहाले स्ववदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताउनुभयो ।

व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ स्टल राखिएको आयोजकले जनाएको छ । मेलाको ५५ हजारले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु