काठमाडौं । आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको छ ।

उहाँले गीतमा नेपाली मौलिकताको तीजको झल्को दिएको छ नै समाजको वास्तविकतालाई पनि चित्रण गर्न खोजिएको छ । कृषिप्रधान मुलुकमा बाँझिदै गएका घरबारी चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै उहाँले तीनताका बाबुबाजेका पालाको घरपरिवार र समाज अहिले पाउन छोडिएको उल्लेख गर्नुभएको छ ।

दुःख गरेर जोगाएको सम्पत्तिको पछिल्लो पुस्ताले संरक्षण गर्न नखोजेको र सुख सुविधाका नाममा परिवार नै बोकेर सहर पस्ने गरेको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ ।

पहिलोपटक २०७४ सालमा आइन छोरी भनेर गीत लिएर बजारमा आउनुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा भाग एक, गरिन गुनासो, जागीरे नारी भाग एक, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइसहित शून्य छ जन्मेको घर बरिलै शीर्षकका गीत बजारमा आएका हुन् । वाग्लेको हरिश्चन्द्र शोक काव्य २०७५ मा प्रकाशित भएको थियो ।

सरकारी सेवामा पोखरा महानगरपालिकामा सातौँ तहको अधिकृतका रुपमा कार्यरत वाग्ले कस्केली अधिकृत समाजका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाग्लेको यो गीतसहित ११ एकल र दुई वटा संयुक्त गरी १३ गीत रेकर्ड भई बजारमा आएका हुन् । उहाँले दर्जनौँ फुटकर गीत तथा कविता रचना गर्नुभएको छ ।

गीतका माध्यमबाट समाजका सत्यतथ्य बाहिर ल्याउँदै सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बर्सेनि तीजका एल्बम बजारमा ल्याएकी वाग्लेको यस गीतको भिडियो निर्देशन, छायाङ्कन, सम्पादन शिवराज भुर्तेलले गर्नुभएको छ । भिडियोमा कलाकार तीर्थराज वाग्ले, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ । गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको छ । रासस

 

 

सम्बन्धित खबरहरु