झापा । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

गृहनगर झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनको पक्षमा जनता नभएको दाबी गर्नुभयो ।

उहाँले जतिसुकै दलले गठबन्धन गरे पनि उनीहरुविरुद्ध एमाले एक्लै लड्न सक्षम रहेको उल्लेख गर्नुभयो ।

ओलीले गठबन्धनलाई भ्रष्टहरुको गठजोडको संज्ञा दिँदै जनताले उनीहरुलाई निर्वाचनमा ठेगान लगाउने जिकिर गर्नुभयो । ओलीले पार्टीले बहुमत ल्याउने र आफू फेरि सिंहदरबारको मुल ढोकाबाट छिरेर प्रधानमन्त्री हुने दाबी गर्नुभयो ।

नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गर्नुभएका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकिर गर्नुभयो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो ।

जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहोर्याउनुभयो ।

 

सम्बन्धित खबरहरु