काठमाडौं । काठमाडौं १४ कलंकीमा रहेको खसीबजार हटाउन महानगरले जारी गरेको सूचनाको व्यावसायीले बिरोध गरेका छन् । महानगरले बिना कुनै जानकारी अचानक खसीबजार हटाउन जारी गरेको सूचना पूर्वाग्रही भएको काठमाडौं चौपाया खरिद बिक्री प्रालि.का अध्यक्ष जनककुमार खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरले बिना कुनै जानकारी खसीबजार सार्न सूचना निकालेको रहेछ । फोहोरमैलाको कारण देखाई बजार सार्न लगाए पनि हामीले त्यस्तो फोहोर गरेका छैनौँ ।’

महानगर आई अनुगमन गर्दा सुधार गर्नै नसकिने गल्ती, कमजोरी भेटिएमा बजार सार्न तयार रहेको उहाँको भनाइ छ । यो कुनै एउटा व्यक्तिले सञ्चालन गरेको नभई यसमा धेरै व्यक्तिहरु जोडिएकाले महानगरले हटाउन आग्रह गर्दैमा नहटाइने खड्काले बताउनुभयो ।

यस खसीबजारमा १९ वटा स्टल दर्ता भएर सञ्चालनमा रहेका छन् । काठमाडौं खरिदबिक्री चौपाया प्रालि.का अध्यक्ष खड्काका अनुसार फोहोरमैलाको कारण देखाई यो बजार सार्न सूचना निकालिए पनि वास्तविक कारण अर्कै रहेको छ ।

उहाँले भन्नुभयो, ‘चन्द्रगिरि नगरपालिकामा नयाँ खसीबजार खुलेको र उक्त खसीबजारबाट खसीहरु बिक्री नभएकाले यसलाई हटाउन पाए उक्त बजार चल्छ भनेर केही व्यक्तिहरु लागिपरेका छन् । महानगरले यस क्षेत्रको अनुगमन नै नगरी यसरी सूचना निकाल्नु सही छैन ।’

यस क्षेत्र वरिपरिका नागरिकले खसीबजारका कारण समस्या भयो भनेर अहिलेसम्म कुनै गुनासो नगरेको उहाँले बताउनुभयो । डेढ किलोमिटर परको नागरिकले हामीलाई असर ग¥यो भन्नु अचम्मको कुरा भएको खड्काले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु