Mao-lrader
१८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले अब जनताकोबीचमा जाने उद्घोष गरेको छ । आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पुष्पकमल दाहालले भने अब हामि जनताका वीचमा हिँड्यौ, बहुमतले पेले फर्किदैनौँ ।
सत्तारुढ कांग्रेस र एमालेले परिर्वतनकारी शक्तिहरुलाई संविधानसभामा बहस गर्ने ठाउँ समेत नदिएकाले सडकमा जान लागेको उनले भनाई थियो ।
पार्टी केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले भने ‘हामी अब जनताको वीचमा हिँड्यौं । जनतालाई साँचो कुरा बताएर मात्र फर्कन्छौं ।’

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षण, समावेशी लोकतन्त्रका लागि संघर्ष गरेका शक्तिलाई पाखा लगाई संविधान बनाउन खोजेर कांग्रेस र एमालेले मुलुकलाई मुठभेडमा धकेलेको उनको आरोप थियो ।

उपलब्धीहरु रक्षाका लागि जनतामा जानुको विकल्प नरहेको भन्दै प्रचण्डले भने ‘जसको बिहे, उसलाई नल्या’ भनेको जस्तो लाजमर्दो के हुन्छ ?’

कांग्रेस र एमालेले बहुमतले पेले शान्तिपूर्ण आन्दोलनको अधिकतम सीमासम्म जाने प्रचण्डले बताए । उनले भने ०६२ र ६३ को आन्दोलनमा के भएको थियो, त्यो तपाईहरुलाई थाहा नै छ । हामी शान्तिपूर्ण संघर्षको सीमासम्म जान्छौं । तर, युद्धमा जाने भनेको होइन ।’
त्यो सीमा संविधानसभा छाड्ने भन्ने हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने ‘बहुमतको बलमा अघि बढे नफर्कने स्थिति बन्न सक्छ ।’

यसअघि आइतबार बिहान ३० दलीय मोर्चाका नेताहरुसँग भएको छलफलमा प्रचण्डले संविधानसभाबाट सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार माओवादी बैठकमा पनि प्रचण्डले स्थिति हेरेर संविधानसभा छाड्न सक्ने संकेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले अहिले पनि आफूहरु सहमतिबाटै संविधान बनोस् भन्ने पक्षमा रहेको बताए । प्रधानमन्त्रीले विगतका सहमति सम्झौता र आन्दोलनकारी दलहरुको सहमतिमा संविधान बनाउने प्रतिवद्धता जनाए पनि दलहरुबीच वार्ता हुन सक्ने प्रचण्डले बताए ।

प्रधानमन्त्री सुशील कोइरालासँग हालै भएको भेटबारे जानकारी दिँदै उनले भने ‘तर काट्नकै लागि जसरी घाँटीमा तरबार राखेर बहस हुन सक्दैन, पहिला तरबार म्यानमा राख्नुस् । हामी आउँछौं ।’

कांग्रेस र एमालेसँग बहुमत छ भन्ने आफूहरुलाई थाहा भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले यसले शान्ति सम्झौता र विगतका सहमतिहरुलाई माइनस गर्न नपाइने बताए ।

एमाओवादीले आन्दोलनका लागि पार्टीका शीर्ष तीन नेतालाई कमाण्डरसमेत तोकेको छ । प्रचण्ड, मध्य, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, पश्चिम र उपाध्यक्ष नाारयणकाजी श्रेष्ठ प्रकाश पूर्वी कमाण्डमा खटिनेछन् ।

जिल्ला र गाउँमा समेत आन्दोलन परिचालन समिति गठन गरिने एमाओवादीले जनाएको छ ।

प्रचण्डले दलहरुबीच भएको छलफल र नमिलेका विषयलाई लिएर जनतामा जाने बताए । ‘कसरी संविधानसभालाई अर्थहीन बनाइयो र परम्परावादी शक्तिहरुले कब्जामा लिए भन्ने जनता माझ लैजान्छौं’ उनले भने ‘त्यसका लागि ३० दलले अपील बनाएको छ ।’

आफूहरुले जातीय राज्य नभनेको भन्दै प्रचण्डले विभेद अन्त्यको कुरा गरेको जनतालाई स्पष्ट पार्ने उनले बताए । एमाओवादी अध्यक्ष प्रचण्डले भने ‘जो चोर उसैको ठूलो स्वर भनेको जस्तो भएको छ, बलियो राष्ट्रिय एकताको कुरा गर्नेहरुलाई विखण्डनकारी भनियो ।’

अर्को एक प्रशंगमा प्रचण्डले सत्तारुढ दल र संविधानसभा अध्यक्षले संविधान, नियमावली सबैलाई मिचेको भन्दै अब २ र ४ दिनमै संविधान ल्याउन सक्ने बताए ।

‘अन्तरिम संविधान पढ्न पनि पर्दैन, शान्ति सम्झौता पढ्न पनि पर्दैन’ प्रचण्डले भने ‘२ र ४ दिनमा यही हो संविधान भन्न सक्छन् । तर, त्यो हामीलाई स्वीकार्य हुँदैन ।’

सम्बन्धित खबरहरु