काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ ।

नक्सा पास नगरी अनधिकृत रूपमा निर्माण गरिएका तथा नक्सा पास भए पनि त्यसविपरीत बनाइएका संरचना भत्काउने कार्यलाई महानगरले अभियानका रूपमा सुरु गरेको हो ।

यसरी अनधिकृत रूपमा निर्माण गरिएका टहरा भत्काउने कार्य महानगरमा धेरै समयपछि पुनः थालिएको छ ।

महानगरले स्वीकृत नक्साअनुसार भूमिगत पार्किङको ठाउँमा सञ्चालन गरिएका पसलहरूलाई समेत हटाउने कामको थालनी गरेको छ ।

महानगर प्रमुख बालेन्द्र शाह र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोली सम्बन्धित स्थलमै उपस्थित भएर अनधिकृत संरचना हटाउन सुरु गरिएको छ ।

महानगर प्रमुख शाहका सचिवालय सदस्य सुनिल लम्सालले अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत बुधबार सुन्धारास्थित काठमाडौँ मलमा तथा खिचापोखरीस्थित आरबी कम्प्लेक्सअगाडिका संरचना पनि भत्काइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनधिकृत संरचना हटाउने अभियान बुधबारदेखि सुरु भएको हो । यो निरन्तर चलिरहन्छ ।”

पार्किङ सञ्चालनको नक्सा पास गरी निर्माण गरिएको क्षेत्रमा पसल सञ्चालन गर्दै आएका घरधनी तथा अन्य घरधनीलाई पसल हटाई पार्किङ सुरु गर्न तथा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन ३५ दिने म्याद दिइए पनि त्यसको पालना नभएपछि हटाउन सुरु गरिएको सचिवालय सदस्य लम्सालले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यती समूहद्वारा निर्माण गरिएको कम्प्लेक्सको बेसमेन्ट खाली गराउने काम सुरु गरिएको जानकारी दिनुभयो ।

नक्सा पासअनुसार सो कम्प्लेक्समा पार्किङ सञ्चालनका लागि बेसमेन्ट तयार गरिए पनि त्यहाँ रक्सीको बार सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “बेसमेन्टका केही भौतिक संरचना महानगरले भत्काइदिएको छ ।

बाँकी संरचना भत्काउन र हटाउन दुई दिनको समय दिइएको छ । कम्प्लेक्स धनीले नहटाएमा महानगरले हटाउनेछ ।” यसअघि महानगरपालिकाले सोमबार नयाँ बानेश्वरमा स्वीकृत नक्साअनुसार

भूमिगत पार्किङको ठाउँमा सञ्चालन गरिएका पसलहरू हटाएको थियो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु