काठमाडौं । नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन। यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ ।

अझ कानुनी रूपमा दर्ता भएको, काम गर्न उपयुक्त वातावरण भएको र कर्मचारीलाई राम्रो सेवा–सुविधा दिने कम्पनी भेटाउन झनै गाह्रो छ।

काठमाडौंमा रोजगार प्रदान गर्ने धेरै कम्पनीहरू छन् र तिनीहरु अधिकांश सामाजिक सञ्जालमा पनि एकदमै सक्रिय छन्। अधिकांश कम्पनीहरुले कुनै अनुभव बिना पनि राम्रो काम उपलब्ध गराउने दाबी गर्छन् ।

शत–प्रतिशत रोजगारीको ग्यारेन्टि दिएर गरिएको उनीहरुको विज्ञापन यसरी राखिएको हुन्छ कि SEE वा माध्यमिक तहको मात्र योग्यता भएका व्यक्तिहरुले पनि सजिलैसँग आकर्षक तलब सहित जागिर पक्का पाउँछन्, त्यो पनि एक कल फोनको भरमा। त्यसैले आवेदकहरुले पनि कुनै खोजीनिति बिना नै कामको लागि आवेदन दिन्छन् ।

धेरै जसो यस्ता कम्पनीहरूले शुरुमा आफ्नो सेवालाई नि:शुल्क भनेर प्रचार गरे पनि दर्ता शुल्क, सञ्चालन शुल्क र अन्य शुल्क भनेर अनेक बहाना बनाइ जागिर खानेहरुबाटै उल्टै मोटो रकम असुल्ने गरेको पाइन्छ। त्यस्तै कतिपयले त जागिर पश्चात एक महिनाको पुरै तलब बराबर सम्मको रकम असुल्ने गरेको गुनासो पनि बारम्बार आइरहन्छन् ।

यस्तै कारणहरुले गर्दा नेपालमा राम्रो र स्थायी जागिर खोज्न निकै कठिनाइ झेल्नु परेको पाइन्छ। र, यसैले गर्दा नेपालमै काम गर्ने र राम्रो करियर बनाउन चाहने मानिसहरुलाई गाह्रो त भएको छ नै, उनीहरुलाई थप हतोत्साही पनि बनाएको छ।

सम्बन्धित खबरहरु