काठमाडौं । काठमाडौं उद्योग वाणिज्य सङ्घले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले अधिकार (अख्तियार) को दुरुपयोग गरेको आरोप लगाएको छ ।

काठमाडौं महानगरले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजीरोटी खोसेको भन्दै सङ्घले महानगरको अभियानप्रति आपत्ति जनाएको हो ।

सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर, कर तिरेर करौडौँ रुपैयाँ लगानी गरेका व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गर्नुभयो ।

उहाँले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारको दुरुपयोग गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेयरले डोजर, प्रहरी अगाडि पछाडि राखेर अधिकार छ भन्दैमा त्यसरी अधिकारलाई दुरुपयोग नगर्न अनुरोध हो । शक्ति यस्तो चिज हो बन्दुक भएपछि चलाउँ चलाउँ लाग्दो रहेछ । उहाँले अधिकारको दुरुपयोग गरेका कारण मुद्वा चलाएर भएपनि ठेगान लगाउँनुपर्ने दावी गर्नुभयो ।

काम गरेर खानेहरूलाई चलाउन नहुने हाम्रो भनाइ हो । बहाल कर लिन महानगरले पार्किङ हो वा व्यवसाय भनेर थाहा भएन । महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्ने हो । व्यवसायीले लगानी गरेको सम्पत्ति पोको बनाएर जाऔँ भन्ने हो ? अनधिकृत रूपमा बनाएको संरचना भत्काउने महानगरलाई अधिकार छ ।

त्यसमा हामी साथ नदिएको होइन । महानगरले व्यापार, व्यवसाय गरेर गरिखानेहरूको पीडा बुझ्नुपर्छ भनेको हो । नियम विपरीत भएपनि हटाउनका लागि समय दिनुपर्छ । अन्डरग्राउन्ड पार्किङमा व्यवसाय गरेको भन्दै व्यवसायीलाई महानगरले जुन व्यवहार गरेको छ, त्यो गलत हो ।’

अध्यक्ष श्रेष्ठले घरधनी र महानगरबीचको विवादको बीचमा व्यापारीलाई पारेर उनीहरूलाई मेयरले पसलमा नै गएर धम्क्याएको दाबी गर्दै त्यो काम गलत भएको बताउनुभयो ।

उहाँले आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्यायसङ्गत नभएको टिप्पणी गर्नुभयो । अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाण्डौ उद्योग वाणिज्य सङ्घ व्यवसायीको हकहितको रक्षाका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले महानगरको अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीप्रति गरेको व्यवहारको विरोध गरेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले महानगरले क्षति पुर्‍याएका व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँले पार्किङका लागि नक्सा पास भए पनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर महानगरले ब्याज खाएको आरोप लगाउनुभयो ।

उहाँले काठमाण्डौ महानगरपालिकाले व्यवसायीबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिनुभयो ।

अध्यक्ष श्रेष्ठले महानगरले पार्किङ प्रयोजनका लागि भनेर व्यवसायको कर लिने अनि बिहानै महानगरको मेयरलाई केही सनक चढ्यो भन्दैमा पसल बन्द गर्न जानु राम्रो नभएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले ३५ दिने सूचना दिए ३५ दिन कटेर ३६ दिन भयो उठेर जाऔँ भन्न प्रजातन्त्रिक देशमा सान्दर्भिक हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । नेपालको कानुनमा अन्डरग्राउन्डमा पसल राख्न पाइँदैन भनेर महानगरले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।

 

सम्बन्धित खबरहरु