१८ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि अब शसक्त आनदोलमा उत्रिने भएको छ ।
आइतबार राजधानीको सद्भावना पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले ३० दलीय मोर्चाको आन्दोलन सशक्त भएर उत्रिने निर्णय गरेको हो ।
बैठकले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको नेतृत्वमा हुने आन्दोलनलाई सशक्त बनाउन सबै नेता कार्यकर्ता आ–आफ्नो क्षेत्रमा खटिने निर्णय समेत गरेको छ ।
बैठकले वार्ता र सम्वादको ढोका पनि बन्द नगर्ने निर्णय गरेको छ । ‘सहमतिको वातावरण कांग्रेस एमालेले बनाउनुपर्छ, तर हामीले मूठभेड निम्त्याउनु हुँदैन’ बैठकमा गच्छदारको भनाई उधृत गर्दै एक मधेसी नेताले भने ‘अब लडाइँ भयो भने प्रहरी र आन्दोलनकारीबीच होइन, दुई पक्षका कार्यकर्ताबीच हुन्छ, त्यसले गृहयुद्ध मच्चाउँछ’ ।
मधेसी मोर्चाको बैठकमा संविधानसभाबाट सामुहिक राजीनामा दिने बारेमा भने छलफल नभएको फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बताए । ‘संविधानसभाबाट राजीनामा दिने प्रसंगमा छलफल भएन,’ यादवले भने, ‘हामीले राजीनामा दिने कुरा गरेका छैनौं ।’
बैठकमा उपेन्द्र यादवले आन्दोलनमा जान अन्कनाउनेहरुलाई अप्ठ्यारो परेको भए कांग्रेस एमालेसँग गए हुन्छ भन्ने चेतावनी दिएको एक नेताले बताए । बैठकमा नेता गच्छदारले आफू मोर्चाको निर्णयमा सहमत हुने प्रष्ट पारेका थिए ।