काठमाडौं । दक्षिण कोरियामा सडक दुर्घटनामा मृत्यु भएका सुर्खेतका जीवन मगरको शव नेपाल ल्याउन समस्या भएको छ ।

पोछनमा कार्यरत जीवनको केही हप्ता अघि हरियो बत्ती बलेकै बेला बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।

नेपाल सरकारले उनको शव नेपाल ल्याउन पर्याप्त हवाई भाडा उपलब्ध नगराएपछि समस्या भएको हो ।

श्रमिकले विदेश जाँदा बुझाएको रकमबाट वैदेशिक रोजगार बोर्डले पाँच लाख ७० हजार कोरियन वन मात्र उपलब्ध गराउँछ । तर, यो रकम कोरियाबाट नेपाल शव पुर्‍याउन नपुग्ने कोरियाका लागि नेपाली श्रम सहचारी रमा भट्टराईको भनाई छ । उहाँका अनुसार यो रकम हवाई भाडाको आधा हो ।

कोरोनापछि हवाई भाडादर झण्डै दोब्बर भएको छ । तर, वैदेशिक रोजगार बोर्डले पुरानै तोकिएको भाडादर अनुसार हवाई भाडा उपलब्ध गराउँदा शव पठाउन सहयोगको लागि आग्रह गरिरहनुपरेको दूतावासको भनाइ छ ।

कोरिया–नेपाल सिधा उडानका लागि कोरियन एयरको मात्र एकाधिकार छ । अहिले कोरियन एयरले शव नेपाल पुर्‍याउन १२ लाख ३० हजार वन अर्थात करिब एक लाख २० हजार भन्दा बढी भाडा लिने गरेको छ ।

जीवनको शव नेपाल पठाउन बाँकी रकम कहाँबाट जोहो गर्ने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागि नसकेको भट्टराईको भनाइ छ ।

जीवनको रोजगारदाताले अस्वीकार गरेमा अन्य क्षेत्रबाट सहयोग उठाएर भए पनि शव नेपाल पठाउने तयारी दूतावासले गरेको छ ।

विगतमा पनि शव पठाउन समस्या हुँदा वैदेशिक रोजगार बोर्डमा अनुरोध गरिएको भए पनि कोरियाका लागि मात्र फरक रकम उपलब्ध गराउन नसकिने जवाफ आएको दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले बताउनुभयो ।

कम्पनीमा हुने दुर्घटनामा किरिया खर्च भन्ने शीर्षकमा बिमाबाट रकम आउने र सोही रकमबाट शव नेपाल पठाउने गरिए पनि बाहिरको दुर्घटना भएकाले अन्य बिमाबाट आउने रकमबाट शव पठाउन सकिने प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राई बताउँनुहुन्छ ।

तर, सबै कागजात पुर्‍याएर रकम जम्मा गर्दा शव पठाउँदा ढिला हुने भन्दै सुर्खेत समाज र कर्णाली प्रदेश समाजले सहयोग अभियान सञ्चालन गरी केही रकम संकलन पनि गरेको छ । उक्त रकम खर्च गरेर नेपाल पठाउँने तयारी छ ।

इन्स्योरेन्स दाबी गरेर रकम आउँदासम्म महिनौं लाग्न सक्ने भएकाले शव पठाउन रकम अभाव नहोस भनेर आवश्यक रकम संकलन गरिसकिएको कर्णाली प्रदेश समाजका कार्यवहाक अध्यक्ष सुदिप रावतले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु