काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीज–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गर्नुभएको छ ।

उहाँले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुएको छ । विज्ञानको क्षेत्रमा भएका नयाँनयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गर्नुभएको छ ।

‘तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् ’

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज–२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गर्नुभएको छ । हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उहाँको विश्वास छ । उपराष्ट्रपतिले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

चाड पर्वहरुले सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उहाँले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताउनुभएको छ । रासस

 

 

सम्बन्धित खबरहरु