काठमाडौं । मधेस केन्द्रीत दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
आइतबार सदभावना पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले ३० दलीय मोर्चाको नेतृत्वमा हुने आन्दोलनलाई सशक्त बनाउनका लागि आफ्ना सबै नेता कार्यकर्ता खटिने निर्णय भएको सद्भावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
सहमतिको वातावरण सत्तारुढ दलहरुले बनाउनुपर्ने निर्णय गर्दै मोर्चाले वार्ता र सम्वादको ढोकालाई पनि खुल्ला राख्ने निर्णय गरेको छ ।
बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने देशमा मुठभेड निम्त्याउन नहुने भन्दै अब मुठभेड भए प्रहरीसँग नभई दुई पक्षका कार्यकर्ताबीच हुने भएकाले त्यसले गृहयुद्ध निम्तने बताएका थिए ।
बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने आन्दोलनमा जान अप्ठेरो हुनेले मोर्चा छोड्न सक्ने चेतावनी दिएको बताइएको छ । फोरम लोकतान्त्रिका अध्यक्ष गच्छदार भने मध्यमार्गी निकासको पक्षमा छन् ।
उनले यसअघि माघ ८ गते भएको चार दलको बैठकमा पनि मध्यमार्गी प्रस्ताव राखेपनि सहमति हुन सकेको थिएन ।