लगानीकर्तालाई आश्वस्त बनाउने वातावरण

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

नेपालको सन्दर्भमा राजनीति र अर्थतन्त्रबीचको सम्बन्ध अन्यत्रको भन्दा बढी अन्तरघुलित  रहँदै आएको छ । राजनीतिक वातावरणमा अभुतपूर्व सुधार आए पछि २०६३ सालपछि अर्थतन्त्रले मारेको फड्को अहिले पनि उत्तिकै चर्चामा छ । धितोपत्र बजार र घरजग्गामा आएको उछालले त्यतिखेर सीमा नै नाघिसक्यो कि भन्नेसम्मका कुराहरु पनि आएका थिए ।  वीच समयको केही निराशालाई चिर्दै फेरि नेपाली अर्थतन्त्रमा आशाका किरणहरु ज्वाजल्यमान भएर आएका छन् । दलहरुबीचको द्दन्दले पाँच बर्षदेपखि गुजुल्टो परेको संबिधान लेखनको कुरा प्रक्रिया मार्फत भए पनि अगाडि बढ्न लागेकाले लगानीकर्ताहरुमा आशा पलाएको छ । सत्ताधारी दलहरुको गठबन्धनले जस्तोसुकै बाधा ब्यवधान भए पनि प्रक्रिया मार्फत संबिधान लेखेर मुलुकमा स्थायित्व दिने बाचा सार्वजनिक गरेकाले लगानीको वातावरणमा त्यसको सकारात्मक प्रभाव परेको छ । बिरोधको नाममा हुने बन्द, हडताल र अशान्ति ब्यवसायिक क्षेत्र र सर्वसाधारण जनताबाट तिरस्कृत भएकाले एमाओबादीसहितका गठबन्धनले संबिधान लेखन बिथोल्न खासै ठूला खाले बन्द र बिरोधका कार्यक्रम ल्याउन सकेनन् । सहमतिको रटानमा पाँच बर्ष गुजार्दा पनि एकथान संबिधान जारी गरेर जनतालाई स्थायित्व, शान्ति सुरक्षा र ढुक्कले ब्यवसाय गर्नसक्ने वातावरणसहितको आर्थिक बिकासको प्रत्याभुति गर्न नसक्ने दलहरुप्रति जनताको मोहभंग हुँदै गएको स्पष्ट संकेतहरु देखिएका छन् । प्रक्रियामार्फतै भए पनि अब संबिधान आउँछ र ढुक्कले गरिखान पाईने वातावरण बन्छ भन्ने आशा जनतामा पलाउँन थालेको देखिन्छ । जातीयता र क्षेत्रीयताको नाममा जनता भड्काउने प्रयास सफल नहुने हो र विप्लव माओबादीले थालेको विध्वंसात्मक गतिविधि नियन्त्रणमा रहने हो भने अब राजनीति आर्थिक बिकासको बाधक नबन्ने पक्का छ ।

अर्को तर्फ, यस आर्थिक बर्षमा बैंक र उत्पादन क्षेत्रका कम्पनीहरुले प्रकाशित गरेका बित्तीय बिबरणहरुले लगानीकर्ताहरुलाई उत्साहित बनाएकै छ । करोडौं घाटामा गएका प्रभु लगायतका बैंकहरुले समेत आकर्षक खुद नाफा गरेको बित्तीय विवरण प्रकाशित गर्दा धितोपत्र बजार तरंगित हुन थालेको छ । प्रायः सबै कम्पनीहरुले गत बर्षंको नाफा बाडीसकेको र एक प्रकारको “अफसिजन”मा समेत धितोपत्र बजार उकालो लाग्दै जानुले लगानीकर्ताहरुमा अचम्मको आत्मबिस्वास पलाएको मान्नुपर्छ । यसमा एकातिर अब राजनीतिमा सुधार आउँछ भन्ने आधारले काम गरेको छ भने अर्कोतिर बैंकहरुमा रहेको अधिक तरलता, सस्तो ब्याजमा कर्जा पाईने अबस्था र प्रतिकुल परिस्थितिमा पनि जोखिम मोलेर लगानी गर्ने चाहनाले काम गरेको मान्नुपर्छ । कृषि क्षेत्रमा ब्यवसायिक योजनाका युवा उद्यमीहरुको सक्रियता बढ्नु, चार बर्ष देखि सुस्ताएको घर जग्गामा विस्तारै चहल पहल देखिनु र विप्रेषणको बढ्दो प्रबाहले गाउँ शहरमा केही गरौं भन्ने भावनाको बिकास गराउनुलाई अर्को सूचकको रुपमा लिनुपर्छ । धितोपत्र बजारका लगानीकर्ताहरुमा उत्साहको अर्को कारण पनि छ । त्यो हो – बजारलाई आधुनिकीकरण गर्न ल्याईएको सीडीएस पूर्ण कार्यान्वयनको दिशामा अगाडि बढ्नु । सीडीएस लागु होला कि नहोला भन्ने अन्योल अब लगभग चिरिन थालेको छ । बाणिज्य बैंकहरुको शेयरहरु अभौतिकीकरण हुने, दैनिक कारोबारमा अभौतिक शेयर किनबेच, नामसारी र राफसाफको तीब्रताले नेपालको धितोपत्र बजारलाई आफ से आफ अभौतिकीकरण तर्फ डोर्याएको छ । भलै यसमा सीडीएससी आफैले पूर्ण अभौतिक शेयर कारोबार र राफसाफको कार्यतालिका बदलेर पछि हटेको र केही नाफाखोरहरुले अभौतिक कारोबार हुँदा आफुले फाईदा लिन पाउँदिन कि भन्ने चिन्ताले काम गरेको किन नहोस । धितोपत्र बजारमा अब अर्को नयाँ सुरुवात पनि हुने वाला छ । अभौतिक गरिएका शेयर धितोमा बाणिज्य बैंकहरुले चाडै नै सस्तो ब्याज दरमा ऋण प्रबाह गर्दै छन् । सीडीएससीले अभौतिक शेयर धितो राख्ने, रोक्का गर्ने, ऋण दिने र फुकुवा गर्ने लगायतका प्रक्रियासहितको कार्यविधि बैंकर संघमा पठाईंसकेको छ । बैंकहरुले त्यसमाथि सहमति जनाई लागु गर्ने चरणमा गईसकेकाले अभौतिक शेयर धितो कर्जा कुरेर बसेका लगानीकर्ताले अबको केही दिनमा नै सस्तोमा अभौतिक शेयर धितो कर्जा पाउने पक्कापक्की   छ । यसले धितोपत्र बजारलाई अझै सबल बनाउने निश्चित छ ।

यसबीचमा बन्दै गरेका माथिल्लो तामाकोशी आयोजनाले जिल्लाबासीका लागि फागुन महिनामा शेयर निस्काशन गरेपछि सर्वसाधारणको पालो आउँदा त्यसले अर्को आयाम थप्ने छ भने जलबिद्युत उत्पादन कम्पनी र राष्ट्रिय बाणिज्य बैंकले निश्कासन गर्ने शेयरमा अर्बौको लगानी गर्न लगानीकर्ताहरु कुरेर बसेका छन् । काठमाडौ हेटौडा सुरुङ मार्ग जस्ता अर्बौका मेगा आयोजनाले लगानी जुटाईसकेकाले त्यस्कोे निर्माणले  द्रुत आर्थिक बिकासमा अर्को आयाम थप्ने छ । यसरी हेर्दा नेपाली अर्थतन्त्र र लगानीका क्षेत्रमा निराशाको बादल क्रमशः हटेर आशाका किरणहरु फैलिदै छन् । राजनीतिक दलका नेताले गरेनन्, गर्न दिएनन् त्यसैले भएन भन्ने हैन, उनीहरुले गर्न नदिए पनि हामी गरेर देखाउँछौ भन्ने जबरजस्त भावनाको बिकास लगानीकर्तामा हुन थालेकोलाई निकै उत्साहको वातावरण मान्नुपर्छ । सधै अर्थतन्त्र राजनीतिबाट मात्र “गाईडेड” हुँदैन भन्ने कुरा श्रीलंकाको गृहयुद्दको समयमा पनि देखिएकै हो, यहाँको वातावरण त झन् धेरै भिन्न छ । दलहरुको आर्थिक बिकास बिरोधी राजनीति थिग्रिंन्छ, अर्थतन्त्र अगाडि बढ्छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७