प्रभु बैंकले निमित्त कार्यकारी प्रमुख अशोक शेरचनलार्इं नै पूर्ण रुपमा प्रमुख कार्यकारीको रुपमा नियुक्त गरेको छ । पहिले प्रभु बिकास बैंकमा रहेका शेरचन किष्टसहितका बैंकलाई मर्ज गरेर आएपछि प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी कुमार लम्सालपछि दोस्रो बरियतामा थिए । ठूलो धनरासीको सुविधा लिएर लम्सालले प्रभुबाट राजीनामा गरेपछि शेरचनलाई निमित्त कार्यकारी बनाईएको थियो ।

बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका शेरचनले किष्टबाट प्रबाह भएको ठूलो परिमाणको निस्क्रिय कर्जा असुली गर्न महत्वपूर्ण भुमिका खेलेका छन् । हालै प्रकाशित प्रभुको दोस्रो त्रैमासको बित्तीय विवरणमा ८२ करोड रुपैयाँ बराबरको निस्क्रिय कर्जा असुल गरी ५० करोड रुपैयाँ प्रोभिजन गरेर पनि ५४ करोड खुद नाफा गरेको देखाईएको छ । यसमा शेरचन नेतृत्वको ब्यवस्थापनले महत्वपूर्ण भुमिका खेलेको थियो । यसै कारण पनि माघ १६ गते बसेको संचालक समिति बैठकले शेरचनलाई नै चार बर्षका लागि पूर्ण कार्यकारी बनाउने निर्णयमा पुगेको हो भनिन्छ ।

प्रभुले गत बिहीबार ग्राण्ड बैंकलाई आफुमा मिसाउने सम्झौतामा हस्ताक्षर गरेको थियो । ग्राण्डलाई एक्विजिशन गरेपछि अब शेरचन नेतृत्वको ब्यवस्थापनलाई पाँच अर्ब पूँजी नघाएको बैंक हाँक्ने अवसर प्राप्त भएको छ । खराब कर्जाले थलिएको ग्राण्डको समेत निस्क्रिय कर्जा असुली गरेर शेरचनले कसरी प्रभुलाई देशको “नम्बर वान” बैंक बनाउँलान ? बैंकिङ क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।

यसैबीच, प्रभुसँग एक्विजिशनमा जाने सम्झौता भएको ग्राण्डको शेयर कारोबार आईतबारबाटै रोक्का भएको छ । एक्विजिशन सम्झौता लगत्तै गं्राण्डको आर्थिक कारोबारमा प्रभुले नियन्त्रण गर्न सुरु गरिसकेको बताईन्छ । एक्विजिशन स्वीकृतिका लागि ग्राण्ड र प्रभु दुबैका तर्फबाट राष्ट्र बैंकमा निबेदन समेत पेश भईसकेको छ । बढीमा तीन महिना भित्र एक्विजिशन प्रक्रिया सकेर संयुक्त कारोबार गर्ने प्रभुको तयारी छ ।

सम्बन्धित खबरहरु