काठमाडौं । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरू मत्र्यलोक (पृथ्वी)मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा सात्विक आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । मैथिल परम्परामा पितृतर्पण प्रारम्भको एक दिनपूर्व भाद्र पूर्णिमाका दिन देवताहरूलाई आमन्त्रित गरिन्छ । यसलाई देवतर्पण भन्ने गरिएको छ ।

b

असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ । यसपक्षबाहेक अन्यबेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवङ्गत भएका) पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको महोत्तरीको बर्दिबास नगरपालिका–२ का बासिन्दा महेशकुमार झा बताउनुहुन्छ ।

पितृपर्व मानिने यस पक्षमा भारतको विहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँशीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँशीमा गर्न सकिने हुँदा सोह्रवटै तिथिको प्रतिनिधित्व हुने गरी यस पक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताको भनाइ छ ।

यसपक्षबाहेक दिवङ्गत हुनेहरूको तिथिमा एकोदिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ । तर यसपक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकूुल (मावल), पितृकुल, गुरुजन र अविवाहित दिवङ्गत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने भङ्गाहा नगरपालिका–५ सिद्धपुरका बासिन्दा रामनारायण झा बताउनुहुन्छ । यसपक्षमै तिथि परेका (निधन भएका)हरूको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोदिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको उहाँको भनाइ छ ।

पितृपक्ष हिन्दू मैथिल परम्परामा अत्यन्त पवित्र मानिने र यस पक्षभरि आफ्ना दिवङ्गतहरूको सम्झना गर्दै सात्विक आचरणमा रहन पर्ने कर्मकाण्डीय शास्त्रीय मत छ । हिन्दू परम्परामा घरमा कुनै शुभकार्य गर्नुअघि पितृको स्मरण गर्दै नान्नीमुखी श्राद्ध गरिने परम्पराकै यो निरन्तरता भएको उहाँहरूको भनाई छ ।

असोज शुक्लपक्षको प्रारम्भसँगै हिन्दूहरूका महान् पर्व बडादशैँ, त्यसलगत्तै तिहार र छठजस्ता राष्ट्रिय पर्व पर्ने भएको हुँदा त्यसअघि पितृस्मरणका लागि सिङ्गोपक्ष पूर्वजले छुट्याएका हुनसक्ने महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्यका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

पितृपक्ष प्रारम्भ हुनासाथै पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको छ । वर्षभरिका सबै तिथिको पार्वण श्राद्ध यसै पक्षभित्र गरिनुपर्दा एकैदिन चार–पाँच ठाउँसम्म श्राद्ध गराउनुपर्ने हुँदा पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको हो । एकोदिष्ट र तीर्थश्राद्धभन्दा बढी विधि हुने हुँदा पार्वण र एकोपार्वण श्राद्धमा समय बढी लाग्ने गरेको पुरोहित महेशकुमार झा बताउनुहुन्छ ।
रासस

सम्बन्धित खबरहरु