काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गालाई नागरिकले साझा प्रयोग गर्न पाउँने अभियानलाई झनै तिव्र पारेको छ ।

काठमाडौंको माछापोखरीमा तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाएर नागरिकको प्रयोगमा लैजाने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौं –१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले नगर प्रहरीको टोलीले हटाएको जानकारी दिनुभयो । त्यस क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो ।

यस्तै, नगरप्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजारसमेत हटाएको छ । यसअघि आजै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाएको थियो ।

काठमाडौं –१६ का वडाअध्यक्ष मुकुन्द रिजालले अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको जानकारी दिनुभयो । कामपा–१६ ले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनपहिले पत्राचारसमेत गरेको थियो ।

महानगरपालिकाले यसअघि न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृतरूपमा बनाइएका संरचना हटाइसकेको छ ।

 

सम्बन्धित खबरहरु