काठमाडौं । मिथिला संस्कृतिअनुसार यहाँस्थित इमाडोलमा जितिया पर्व मनाइएको छ ।

नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गर्नुभएको थियो । उहाँका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रत बस्ने गर्छन् । व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।

उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् । खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् ।

सामुदायिक वनमा बेसारको व्यावसायिक खेती
झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् ।

वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासङ्घ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताउनुभयो । उहाँले कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर जमिनमा बेसार खेती गरिरहेको जानकारी दिनुभयो ।

गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोग र सहकार्यमा उहाँले माइकेनियाँ झारको नियन्त्रण हुने र हात्तीले समेत नबिगार्ने हुँदा बेसार खेती थालिएको बताउनुभयो । “आम्दानीको स्रोत पनि भयो”, उहाँले भन्नुभयो, “बेसार आफैँ पनि मलिलो बिरुवा हुँदोरहेछ । यसको खेती सुरु भएपछि वर्षौँदेखि माइकेनियाँ झारले उम्रिन नदिएका नयाँ बिरुवासमेत आफैँ उम्रन थाले ।”

उहाँले सामुदायिक वनकै अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरेको बताउनुभयो । हाल वनमा बेसार खेती राम्रोसँग फस्टाएको उहाँको भनाइ छ । उहाँका अनुसार कचनकवल गाउँपालिकाभित्र रहेका दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले क्रमशः चार हेक्टर र एक–एक हेक्टर जमिनमा बेसारको व्यावसायिक खेती गर्दै आएका छन् ।

यसैगरी हल्दिबारी क्षेत्रका रातमाटे र पाथीभरा सामुदायिक वनले समेत बेसार खेती गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ हल्दिबारीका अध्यक्ष हेमराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा परीक्षणका लागि चार–चार कठ्ठामा बेसार खेती गरिएको छ । “थोरै लगानीमा धेरै आम्दानी हुने, मल र पानीसमेत चाहिने हुँदा बेसार खेती उपयुक्त भएको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “उपभोक्ताले उत्पादन गरेको बेसार उनीहरूलाई दिने र सो क्षेत्रमा उम्रिएका नयाँ बिरुवा भने खाली रहेको वन क्षेत्रमा सारिने गरिएको छ । वन क्षेत्रमा नयाँ बिरुवा उमार्ने उपयोगी खेती पो भयो बेसार ।”

उहाँले बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन थालेको जनाउँदै भन्नुभयो, “अन्य वन क्षेत्रमा पनि लगाउने तयारी गरिरहेका छौँ ।” हात्ती र माइकेनियाँ झारका कारण आजित भएका सामुदायिक वनहरु बेसार खेतीका लागि प्रेरणा दिने फरेस्ट एक्सनसँग यतिबेला खुसी छन् । आगामी दिनमा पालिकाभित्र रहेको सातवटै सामुदायिक वनमा व्यावसायिकरूपमा बेसार खेती गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

डिभिजन वन कार्यालय झापाले अन्य सामुदायिक वनहरूले पनि खाली रहेको अर्थात् साना बिरुवा भएको क्षेत्रमा बेसार खेती गर्दा उपयुक्त हुने जनाएको छ । कार्यालयका निमित्त प्रमुख जीवनकुमार पाठकले बेसार खेतीका लागि जमिन खनजोत गर्दा सो क्षेत्रमा वर्षौँदेखि उम्रिन नसकेका साल, हर्रो, बर्रो, कदमलगायतका बिरुवासमेत उम्रिएको बताउनुभयो ।

जिल्लामा कृषि सहकारी, निजी क्षेत्रका सङ्घसंस्थाले विगतदेखि नै व्यावसायिक बेसार खेती गर्दै आए पनि सामुदायिक वनहरुले भने पहिलोपटक खेतीको अभ्यास गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा बेसारको व्यावसायिक खेती गर्ने पहिलो दमक नगरपालिकास्थित मानसरोवर कृषि सहकारी संस्था रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । सो सहकारीले आर्थिक वर्ष २०७६÷७७ बाट बेसार खेतीको सुरुआत गरेको हो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा दुई सय २० हेक्टर क्षेत्रमा बेसारको व्यावसायिक खेती भएको बताउनुभयो । उहाँले केन्द्रले बेसार खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि किसानलाई प्रोत्साहनस्वरुव अनुदान दिने बताउनुभयो ।

उहाँले बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटोमा बेसारको खेती हुने गरेको बताउनुभयो । पानी नजम्ने जग्गामा चैत र वैशाख महिना बिरुवा लगाउन उपयुक्त हुने उहाँको भनाई छ । बेसार हाम्रो दैनिक भान्सामा मसलाका रूपमा प्रयोग हुने एक प्रकारको धुलो हो । बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणको उत्तम स्रोतको रुपमा लिने गरेको पाइन्छ । रासस

सम्बन्धित खबरहरु