काठमाडौं । महाअभियोग सिफारिस समितिमा लगाइएका महाअभियोगका सम्बन्धनमा बयान दिँदा पूर्व प्रधानन्यायाधीशहरुको पोल खोलेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरालाई चार पूर्वप्रधानन्यायाधीशले चुनौती दिनुभएको छ । प्रतिनिधिसभा जस्तो गरिमामय संस्थामा गएर विषयवस्तुभन्दा बाहिर गएर टिप्पणी गरेको उहाँहरुको ठहर छ ।

समितिले डाकेको छलफलमा सहभागी हुन समेत अस्वीकार गर्दै उहाँहरुले निश्चित विषयवस्तु र आरोपविना आफूहरु समितिमा सामेल हुन नसक्ने जवाफ पठाउँनुभएको छ ।

नेपालको संविधानको धारा १०१ अनुसार जे विषयमा महाभियोग लगाइएको हो, तिनैको विषयमा केन्द्रित भई सिफारिस समितिले छानबिन अगाडि बढाउनुपर्ने भन्दै आरोप लागेका व्यक्तिले अरुलाई अभियोग लगाउन नसक्ने पूर्वप्रधानन्यायाधीशहरुको ठम्याई छ ।

उहाँहरुले पत्रमा लेख्नुभएको छ, ‘निजले आफ्नो बारेमा लगाएको आरोप सम्बन्धमा कानूनबमोजिम आफ्नो प्रतिवाद गर्नमा केन्द्रित हुनुपर्ने हुन्छ ।’ आरोप लागेको व्यक्तिले लगाएको अर्को अरोप खोज्न संसद लाग्नु राम्रो हैन ।

सिफारिस समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैमाथि दाबी–छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष छ ।

पत्रमा भनिएको छ, ‘जुन विषयमा सिफारिसको लागि आफू गठन भएको हो, त्यसैको सीमाभित्र रहेर कानूनबमोजिम तथ्यको खोजबिन गर्नु समिति जवाफदेही हुने हुँदा सो बाहेक अन्य कुनै रुपले पनि विवादित विषयवस्तुको विस्तार गर्न र त्यसको निरुपण गर्न कोसिस गर्न नमिल्ने कुरा स्मरणीय छ ।’

जबरामाथिको आरोपका सन्दर्भमा उहाँले कुरा गरेको नदेखिएको, अनि समितिले माग बाहेकको विषयमा वक्तव्य दिएको र आफूमाथिको आरोपमा जबराले कुनै सबुत समेत नदिएको भन्दै पूर्वप्रधानन्यायाधीशहरुले पत्रमा आपत्ति जनाउँनुभएको छ ।

‘कसैउपर झुटा, भ्रामक, कपोलकल्पित, गोश्‍वारा, बेप्रमाणित, अप्रासंगिक र अमूर्त ढंगले आरोप लगाउँदैमा पुग्दैन’ पत्रमा भनिएको छ, ‘आरोप लगाउनेले बुझ्नसक्ने गरी अमुक व्यक्तिले अमुक विषयमा अमुक समयमा अमुक कुरा अनुचित ढंगले हासिल गर्न खोजेको वा हासिल गरेको भन्ने कुरा शंकारहित तवरले सिद्ध गर्नुपर्ने हुन्छ ।’

महाभियोग प्रस्ताव दर्ता भएका व्यक्ति जे भने पनि हुने शैलीमा प्रस्तुत भएको भन्दै पूर्वप्रधानन्यायधीशहरुले संयुक्त वा व्यक्तिगत रुपमा कुनै गैरकानूनी लाभ लिने उद्देश्यले कुनै विषयमा नबोलेको र जबरालाई समेत प्रभावित नपारेको पत्रमा उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबरहरु