काठमाडौं । जिउँदो सहिदका नामले परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ ।

लामो समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा बिहीबार साँझ ८ः३० बजे काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

दुई हप्ताअघि स्वास्थ्यमा थप समस्या आएपछि उहाँलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । विसं २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका घिमिरे २०७४ को निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो ।

विसं २०२५ मा पाल्पाको रामपुर नगरपालिकामा जन्मनुभएका भएका घिमिरे विद्यार्थी जीवनदेखि नै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विसं २०३६ बाट राजनीतिमा सक्रिय भएर निरन्तर लाग्नुभएका घिमिरे २०३७ मा नेविसङ्घ रामतुल्सी माध्यमिक विद्यालय रामपुर कमिटीमा सचिव, काठमाडौँस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

यस्तै २०४४ मा कांग्रेस पाल्पाको जिल्ला सदस्य, २०४६ मा नेविसङ्घको जिल्ला सचिवको जिम्मेवारी लिएर काम गर्नुभएको थियो । उहाँ २०४६ मा भएको जनआन्दोलनको पाल्पाको पूर्वी क्षेत्रको नेतृत्व गर्ने साहसी र इमान्दार नेताका रुपमा चिनिनुहुन्छ । पहिलो जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गर्ने क्रममा उहाँलाई हानेको गोली लागेर दाजु सहिद सूर्यप्रसाद घिमिरेको निधन भएको थियो । त्यसकारण पनि उहाँलाई विसं २०४६ देखि यता जिउँदो सहिद भनेर चिनिन्छ । त्यतिबेला २१ वर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्नुभएका घिमिरेले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहनुभएको थियो

घिमिरेले २०४८/२०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसङ्घको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सचिव भएर काम गर्नुभएको हो । वरिष्ट चार्टर्ड एकाउन्टेनसमेत रहनुभएका घिमिरेले बीमा समितिमा समेत रहेर काम गर्नुभएको थियो ।

उहाँमा २०७४ को निर्वाचनपछि आन्द्रामा क्यान्सर देखिएपछि नियमित उपचार गराउँदै आउनुभएको थियो । पछिल्लो समय फोक्सोमा समेत समस्या देखिएपछि काठमाडौँ तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।

राजनीतिमा स्वच्छ छवि बनाउनुभएका घिमिरेको निधनले पार्टीमा ठूलो क्षति पुगेको नेपाली कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । उहाँको निधनले कांग्रेस पाल्पालाई मात्र नभई सिङ्गो पाल्पालीलाई स्तब्ध बनाएको छ । पार्थिक शरीरलाई शुक्रबार दिउँसो १ बजे पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिका सदस्य कल्प पौडेलले बताउनुभयो । घिमिरेका आमा, श्रीमतीसहित दुई छोरा र एक छोरी हुनुहुन्छ ।

अन्त्येष्टिअघि आर्यघाटमै शोकसभाको आयोजना गरिने र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुलेसमेत श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बुझिएको छ । रासस

 

 

सम्बन्धित खबरहरु