काठमाडौं । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ ।

आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको आज प्रेस विज्ञप्ति जारी गरी जनाउनुभएको छ ।

पुस्तान्तरण हुँदै खुँडा बनाउने सीप
पुख्र्यौली पेशालाई आधुनिक बनाएपछि रामबहादुर कामीले पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा बसोबास गर्दै आएका उहाँले फलामको खुँडा बनाएर कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीसम्म पु¥याएर एकदशकदेखि बेच्दै आउनुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि कामीले बनाएको खुँडाको माग छ ।

“बुवाबाजेले पुख्र्यौंलीदेखि फलामको काम गर्दै आएका हुन्”, महेन्द्रनगर बजारमा खुँडा बेच्दै हिँडेका उहाँले भन्नुभयो, “मेरै पुर्खाले बझाङको फलाम खानीबाट फलाम निकालेर त्यसबेला आवश्यक घरायसीरुपमा प्रयोग हुने सामानदेखि कृषि औजारसम्मका सामान बनाउथे, खुबै चल्थे ।”

बाजेको पालासम्म आइपुग्दा फलाम खानी बन्द भएपछि कामीका बुवाले पहाडमा चल्ने ताउला, भादला, हुडुलगायत बनाएर बेच्नुहुन्थ्यो । “बुवाबाजेकै सीप सिकेर मैले पनि त्यही पेशा अपनाउन खोजे परिवार पाल्नै निकै कठिन भयो”, उहाँले भन्नुभयो, “बजारमा कारखानामा बनेका भाँडाकुँडाको चलन चल्न थाल्यो । फलाम, तामा, काँसो पिटेर बनाइएका भाँडाकुँडा टिकाउ हुने भए पनि निकै मेहनत लाग्ने र महँगो हुने भएकाले रुचाउन छाडियो ।”

परिवार पाल्नै कठिन भएपछि कामीले बझाङबाट बसाई सार्ने निधो गर्नुभयो । परिवारसँगै घुम्दै आउँदा बुडरमा घरबसका लागि जग्गा खोजेर त्यही बस्न सुरु गर्नुभयो । पुरानो भाँडाकुँडा बनाउने पेशाले जीविका चलाउन निकै कठिन भएपछि खुँडा बनाउने कार्यमा लाग्नुभयो ।

खुँडा पहिला पनि बनाइने गरिएको थियो तर त्यो परम्परागत हुन्थ्यो । समयको मागअनुसार खुँडामा फिनिसिङ राम्रो दिइ समय अनुकूल ढाले र बजारमा लगेसँगै निकै बिक्री हुन थालेपछि यसैलाई व्यावसायिकरुपमा अगाडि बढाइएको कामीले बताउनुभयो । वर्षमा दुई सय जति खुँडा तयार गरी उहाँले बेच्दै आउनुभएको छ ।

महिनामा २० देखि ३० सम्म खुँडा बिक्री हुन्छ । एउटै खुँडाको मूल्य रु पाँच हजारदेखि रु १३ हजारसम्म पर्ने गर्दछ । कामीले फलामबाट बनेको खुँडा बेचेर मात्रै मासिकरुपमा रु ३० हजारदेखि रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।“ठूलो खुँडा बनाउन दुई दिन लाग्छ, सानो खुँडा एक दिनमै तयार हुन्छ”, उहाँले भन्नुभयो, “माग आएको खुँडा बेच्न गाह्रो हुँदैन, घरबाटै बिक्री हुन्छ, बजारमा डुल्दै बेच्न भने निकै झन्झट हुन्छ, एक हप्ता बनाउन लाग्छ, एक हप्ता बेच्नका लागि बजार बजार डुल्दै हिँड्नुपर्छ ।” खुँडाको कपडाको खोल भने उहाँकी बुहारीले बनाउनुहुन्छ ।

सिलाइकटाइको सीप सिकेकाले बुहारीले आकर्षक खोल बनाउने गरेको कामीले बताउनुभयो । आरन चलाउनका लागि कोइला सामुदायिक वनमा निःशुल्करुपमा प्रयाप्तरुपमा पाइने गरिएको छ ।

खुँडा बनाउन गाडीको पट्टाको फलामको प्रयोग गर्ने भएकाले टिकाउ, चम्किलो, तेजिलो धार हुने भएकाले ग्राहकले रुचाउने गरेका छन् । खुँडाको तल्लो भागमा सिल्भरको मुठो(हातले समात्ने) र माथिल्लो भागमा फलामको प्रयोग हुने गरेको छ । खुँडा बनाउन फलाम र सिल्भर कैलालीको धनगढीबाट खरिद गरेर कामीले लग्ने गरेका छन् ।

खुँडाको प्रयोग विशेषगरी भगवतीमा चढाइएका राँगा, बोका काटनका लागि प्रयोग हुने गरेको छ । खुँडाको ब्राह्मणले पूजा गरेपछि मात्रै काटनका लागि प्रयोग गरिन्छ । प्राचीनकालमा खुँडाको प्रयोग युद्ध लड्नका लागि प्रयोग हुने गरेको थियो ।

हाल भगवतीको राँगा काटनका लागि मात्रै खुँडाको प्रयोग नभएर शोकका लागिसमेत खरिद गर्ने गरिन्छ । प्राचीन हतियार भएकाले धेरैले घरमै राख्नका लागि पनि खरिद गर्न रुचाउने गरेको कामी बताउनुहुन्छ । खुँडासँगै कामीले मन्दिरमा चढाउने र घरमा पालिने चौपायाको घाँटीमा झुन्ड्याइँने घण्टी बनाएरसमेत बेच्नुहुन्छ । नौ जनाको परिवारको खर्च यसबाटै चलेको उहाँ बताउनुहुन्छ ।

“सीप पुर्खौंदेखि पुस्तान्तरण हुँदै यहाँसम्म आइपुगेको छ”, उहाँले भन्नुभयो, “माइलो छोरालाई खुँडा बनाउने सीप सिकाए पनि गर्न मानेको छैन । अरु छोराले सिक्नकै लागि नाइनास्ती गरे । फलामका सामान ग्राहकले रुचाउने गरी तयार गरे पनि बेच्नका लागि बजार खोज्दै हिँडनु परेकाले समस्या छ ।”

उत्पादन भएका सामान सहजरुपमा बजारमा बेच्नसक्ने व्यवस्था गरिए नयाँ पुस्तालाई यस व्यवसायमा डो¥याउन सकिने उहाँको भनाइ छ । “सस्तोमै सामान उत्पादन गर्नका लागि आधुनिक मेसिन र कच्चापदार्थ खरिद गर्नका लागि विनाधितो, थोरै व्याजमा कर्जा पाइए सहजरुपमा व्यवसाय चलाउन सकिन्थ्यो”, कामीले भन्नुभयो, “त्यसको व्यवस्था हालसम्म हुन सकेको छैन ।” स्थानीय तहबाटसमेत हालसम्म कुनै सहयोग नपाइएको उहाँले बताउनुभयो ।

“यस व्यवसायबाट गतिलो कमाइ छ, यसबाटै परिवारको खर्च चलेको छ, पैशाकै लागि अरुसँग हात थाप्नुपरेको छैन”, उहाँले भन्नुभयो, “पुर्खौंदेखि चल्दै आएको पेशा ओझेलमा पर्न थालेकामा चिन्ता छ, यस व्यवसायलाई जोगाउनका लागि युवालाई आकर्षित गर्न अनुदानका कार्यक्रम ल्याइनुपर्छ, खुँडा सुदूरपश्चिमको हतियारमा सबैभन्दा महत्वपूर्ण भएकाले जोगाउनु नितान्त जरुरी छ ।” रासस

सम्बन्धित खबरहरु