काठमाडौं । लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्नुभएको हो ।

कार्यक्रममा उहाँले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीको मेहनत र खटाइले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको भन्दै अहिलेको शिक्षा क्षेत्रमा पनि सुधार हुन आवश्यक रहेको बताउनुभयो । स्थानीयस्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले पाँच वटा प्रदेशमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले खोपको महत्व बुझाउन नसक्दा खोप घोषणामा समस्या भएको र समुदायस्तरमा खोपको विषयमा जानकारी नहुँदा बालबालिकाहरूमा कुपोषण हुने गरेको बताउनुभयो ।

कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणामा महत्वपूर्ण योगदान पु¥याएका प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्यकर्मीलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । रासस

 

 

सम्बन्धित खबरहरु