काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । यससँगै नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्नेछ ।

घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि प्रिती राईको पासमा रश्मीकुमारी घिसिङले गोल गरेपछि भारत नेपालसँग स्तब्ध बन्यो । नेपालले भारतविरुद्ध १–० को जित निकाल्न सफल बन्यो ।

भारत यसअघिका सबै पाँच संस्करणको विजेता हो। तीमध्ये चार संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो भने थप अर्को संस्करणको फाइनलमा बंगलादेशलाई पराजित गरेको थियो ।

सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिप भारतले त्यसपछि २०१२, २०१४, २०१६ र २०१९ संस्करण जितेको थियो । सन् २०१६ बाहेक अन्य सबै संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो। सन् २०१६ संस्करणमा नेपाललाई सेमिफाइनलमा हराएर भारतले फाइनलमा स्थान बनाएको थियो ।

नेपाललाई ऐतिहाँसिक जित दिलाउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी–बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन्। मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रीती राईले रश्मीलाई पास उपलब्ध गराएकी थिइन्। सुरुवातमा भारतले दबाब बनाएपनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो। दोस्रो हाफको सुरुवातमै भारतीय गोलरक्षकले लगातार उत्कृष्ट बचाउ गरेकी थिइन्।

५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल लाइनबाट क्लियर गरिदिएकी थिइन् । एक मिनेटलगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाएकी थिइन् । ६५ औँ मिनेटमा प्रिति राईले डी–बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको थियो । ८३ औँ मिनेटमा नेपालकी कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बाहाम्पो लिम्बुले शानदार बचाउ गर्दै नेपालको संकट टारेकी थिइन् ।

नेपालले साफ च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो। यसअघि सम्पन्न पाँच संस्करणमध्ये चारवटामा फाइनल पुगेपनि नेपाललाई भारतले ती सबैमा निराश बनाएको थियो । नेपाल अर्को एक संस्करणमा भारतसँग पराजित भएर सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलले हराउँदै बंगलादेश फाइनल पुगेको हो। प्रतियोगिताको फाइनल आगामी सोमबार दशरथ रंगशालामा हुने छ।

 

सम्बन्धित खबरहरु