काठमाडौं । अहिले देशभर बर्षा भइरहेको छ । अझ देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ ।

बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

https://twitter.com/DHM_FloodEWS/status/1570889728790269952

कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान छ।

पश्चिमी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित वाग्मती, प्रदेश एक, मधेस प्रदेशमा पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिउँसोपख भारी वर्षाको सम्भावना छ।

https://twitter.com/DHM_FloodEWS/status/1570901055541747712

बाढी पूर्वानुमान महाशाखाले आज दिउँसोसम्म नै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । निरन्तरको वर्षाले बाढी–पहिरोको जोखिम पनि बढेको भन्दै मौसमविद्ले जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले निरन्तरको वर्षाले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने जनाएको छ । ट्राफिक प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पानी परेको भए पनि अहिलेसम्म मुख्य राजमार्गमा गाडीको आवागमन रोकिएको छैन ।

मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, कर्णाली , सुदूरपश्चिम , बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०७९ असोज १ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असोज २ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ३ गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ । देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यसबाट पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

सम्बन्धित खबरहरु